इन्स्पेक्टर महत मृत्यु प्रकरण: बैतडी घर भएका प्रेमी इन्स्पेक्टर जोशी पक्राउ

धनगढी- सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणको अहिले अनुसन्धान चलिरहेको छ । अनुसन्धानका लागि सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन्। जोशीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले बताउनुभयो।

स्थायी घर बैतडी भएको जोशीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्तोषीको परिवारले जोशी विरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए। उजुरी दर्ता भएपछि २३ नं.गण तनहुँमा कार्यरत जोशी समातिएका हुन्। उनी १६ बेसिकका इन्स्पेक्टर हुन्। जोशी र सन्तोषी प्रेमी–प्रेमिका रहेको परिवारको दाबी छ। उनैका कारण सन्तोषीले आत्महत्या गर्नु परेको जाहेरीमा दाबी गरिएको छ।

यो घटनाको छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वाटरले समेत राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।

इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी महत सन्तोषी पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा मृत भेटिएकी थिइन्। सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) की इन्स्पेक्टर हुन्।

इन्स्पेक्टरको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालय नजिकको बिममा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

२०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन्। त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन्।

प्रतिक्रिया छाेड्नुहाेस्