बैतडी- नेपाल शिक्षक संगठन बैतडीको जिल्ला अधिवेशनको उद्घाटन गर्न बैतडी पुगेका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले नयाँ शिक्षा ऐन चाँडै आउने बताएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिकामा शिक्षक संगठन १८ औं जिल्ला अधिवेशनको उद्दघाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
नयाँ आउने शिक्षा ऐनले सबै शिक्षकहरुका मागहरुलाई सम्बोधन गर्ने र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उहाँको दाबी छ। शिक्षकहरुका तर्फबाट व्यक्त भएका मागहरुलाई ऐनले सम्बोधन गर्ने उहाँले दाबी गर्नुभयो ।

अहिले एमाले र कांग्रेस मिलेर राष्ट्रिय आवश्यकताका आधारमा सरकार निर्माण गरिएको समेत मन्त्री भण्डारीको बताउनुभयो । सरकारले अध्यादेशमार्फत ल्याएका कानुनहरु अहिलेको आवश्यकता भएकाले संसदबाट पारित गर्नुपर्ने उहाँको भनाई छ।
यस्तै देशको अर्थतन्त्र सुधारका लागि सबै पक्ष एकभएर अघि बढ्नुपर्नेमा मन्त्री भण्डारीको जोड थियो । अर्थतन्त्रमा सुधार आएमात्रै देशका समस्या समाधान हुने भएकाले सबै क्षेत्र मिलेर जानुपर्नेमा उहाँले जोड दिनुभयो।

नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीका अध्यक्ष प्रेमराज भट्टको अध्यक्षतामा भएको अधिवेशनमा मन्त्री भण्डारी प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय अध्यक्ष विष्णु भण्डारी विशिष्ट अतिथी रहनुभएको थियो ।
अधिवेशनले प्रमानन्द भट्टको अध्यक्षतामा नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको २५ सदस्यीय नयाँ नेतृत्व समेत चयन गरेको नेपाल शिक्षक संगठन बैतडीका निर्वतमान अध्यक्ष प्रेमराज भट्टले बताउनुभायो ।











