न्युनतम सेवा मापदण्डमा खस्कियो बैतडी अस्पतालको अंक : व्यवस्थापन समिति र जनरल फिजिसियन नहुनु मख्य कारण

बैतडी- विगतका वर्षहरुमा न्युनतम स्वास्थ्य सेवा मापदण्डमा देशभरीमै उत्कृष्ट हुने जिल्ला अस्पताल बैतडीको अंक यस वर्ष भने खस्किएको छ । यस वर्ष बैतडी अस्पतालको चार अंक घटेर ८९ पुगेको छ । गएको वर्ष ९३ अंक प्राप्त गरेको बैतडी अस्पतालले यस वर्ष चार अंक कम पाएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर सुशील विकले बताउनुभयो ।

अस्पताल व्यवस्थापन समितिको म्याद सकिएर अर्को समिति नबन्नु तथा अस्पतालमा जनरल फिजिसियन डाक्टर नहुनुले अस्पतालको अंक घटेको उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘अन्य कुरामा बरु सुधार भएको छ । तर अस्पताल व्यवस्थापन समिति र जीपी डाक्टर नहुनुको कारण यस वर्ष अंक घट्यो ।’

पुषमा गर्नुपर्ने न्युनतम स्वास्थ्य सेवा मापदण्डको मुल्याङ्ककन चैत्र दोश्रो साता हुनुले पनि अंक घटेको पाइएको छ ।अस्पतालले प्रदान गर्ने अस्पताल भित्रका सेवा सुविधा, भौतिक व्यवस्थापन लगायतका कार्यहरु हेरेर न्यूनतम सेवा मापदण्डको अनुगमन गर्ने गरिन्छ । जिल्ला अस्पताल व्यवस्थापन समितिको म्यान ०८१ चैत्र २ गते सकिएको छ । राजनीतिक नियुक्तका आधारमा बन्ने अस्पताल व्यवस्थापन समितिले तत्कालै पुर्णता पाउने अनिश्चित छ ।

सिमित पुर्वाधार र उपकरणका बावजुत समेत अस्पतालले उत्कृष्ट सेवा दिने प्रयास गरिरहेको अस्पतालका म्यानेजर सुमन महराले बताउनुभयो । उहाँले भन्नुभयो ‘१५ सैय्याको मात्रै दरबन्दी रहेको अस्पतालमा अहिले करिब ५० सैय्या बराबरको सेवा उपलब्ध गराइरहेका छौँ । सरकारले ५० सैय्याको दरबन्दी स्विकृत गरिदिने हो भने अस्पतालको सेवा प्रवाहको गुणस्तार अझै वृद्धी हुने थियो ।’

यस पटक सत्ता साझेदार दल नेपाली कांग्रेस र एमाले दुबैले अस्पताल व्यवस्थापन समितिको अध्यक्षका लागि दाबी गरिरहेका छन् । जिल्ला खेलकुद विकास समितिको म्यान समेत सकिन लागेकाले दुबै सत्तासाझेदार दलमा भागवण्डा हुने सम्भावना छ ।

प्रतिक्रिया छाेड्नुहाेस्