बैतडी । १९ जेठ– बैतडीको दशरथचन्द नगरपालिका–१ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरेर वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको गुरुखोला स्वास्थ्यचौकीमा प्रमुख लवदेव भट्टले बताउनुभयो ।
वडाभित्र रहेका खोप पाउनुपर्ने ५ बर्षमुनिका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप पाइसकेको एकीन भएपछि वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको हो ।

नगरपालिकाका ११ ओटै वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणापछि नगरपालिकालाई पनि पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा गर्ने तयारी रहेको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताउनुभयो।

हरेक बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको एकीन गरेपछि हरेक बर्ष वडा र पालिकालाई पूर्णखोप घोषणा गर्ने गरिएको जोशीले बताउनुभयो। बालबालिकाहरुलाई विभिन्न १३ ओटा रोगविरुद्ध खोप दिने गरिएको छ । ती खोपहरु पाए/नपाएको एकीन गर्न घरधुरी सर्वेक्षण गर्ने गरिएको र त्यसपछि पूर्णखोप सुनिश्चित वडा घोषणा गर्ने गरिएको जोशीले बताउनुभयो।

दशरथचन्द नगरपालिका १ का वडा अध्यक्ष विष्णुदत्त भट्टको अध्यक्षतामा भएको पूर्णखोप सुनिश्चित वडा घोषणा कार्यक्रममा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) प्रमुख अतिथी रहेका थिए । यस्तै दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्द कार्यक्रममा बिशिष्ट अतिथी रहेकी थिइन् ।

पूर्णखोप सुनिश्चित वडा घोषणा कार्यक्रममा बोल्दै नगर प्रमुख जोशीले यसको दिगोपनाका लागि नगरपालिकाकातर्फबाट प्रतिबद्धता समेत व्यक्त गरेका छन् । आधारभूत स्वास्थ्य सेवामा नगरबासीको पहुँच पुर्याउन आफू क्रियाशील रहेको उनले बताउनुभयो।

यस्तै उपप्रमुख कौशिला चन्दले खोप पाउनु हरेक बालबालिकाहरुको नैसर्गिक अधिकार भएकाले पूर्णखोप सुनिश्चित घोषणा गर्नु आवश्यक रहेको बताइन् । खोप कार्यक्रमले बालमृत्यु रोकथाममा ठूलो सहयोग पुर्याएको उनले बताइन् ।

साेहि अवसरमा उपप्रमुख चन्दले नगरउपप्रमुखकाे काेसेली समेत वितरण गरेका थिए ।

दशरथचन्द नगरपालिकाका ११ ओटा वडामध्ये वडा नं १, २, ४, ५, ९, १० र ११ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिसकिएको स्वास्थ्य शाखा प्रमुख जोशीले बताउनुभयो । बाँकी रहेका वडाहरु पनि चाँडै पूर्णखोप सुनिश्चित वडा घोषणा गरिने जोशीले बताउनुभयो।










