बैतडी । ३१ जेठ- बैतडीको दशरथचन्द नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । नगरपालिका भित्रका वडाहरुलाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरेर आज नगरपालिकालाई पनि पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा गरिएको नगर स्वास्थ्य शाखा प्रमुख भुवन जोशीले बताउनुभयो ।

नगरभित्र रहेका खोप पाउनुपर्ने ५ बर्षमुनिका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप पाइसकेको एकीन भएपछि पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो । नगरपालिकाका ११ ओटै वडालाई यस अघि पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको थियो ।
हरेक बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको एकीन गरेपछि हरेक बर्ष वडा र पालिकालाई पूर्णखोप घोषणा गर्ने गरिएको जोशीले बताउनुभयो। बालबालिकाहरुलाई विभिन्न १३ ओटा रोगविरुद्ध खोप दिने गरिएको छ । ती खोपहरु पाएरनपाएको एकीन गर्न घरधुरी सर्वेक्षण गर्ने गरिएको र त्यसपछि पूर्णखोप सुनिश्चित घोषणा गर्ने गरिएको जोशीले बताउनुभयो।

पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा कार्यक्रमकै अवसर पारेर नगरपालिकाभित्रका उत्कृष्ट स्वास्थ्यकर्मिहरुलाई सम्मान गरिएको थियो । यस्तै वडा अध्यक्ष र स्वास्थ्यचौकी इन्चार्जहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै उपप्रमुख कौशिला चन्दले हरेब बालबालिकाले खोप बाट छुट्नु नहुने कुरामा जोड दिनुभयो । खोप पाउनु हरेक बालबालिकाहरुको नैसर्गिक अधिकार भएकाले पूर्णखोप सुनिश्चित घोषणा गर्नु आवश्यक रहेको बताउनुभयो। खोप कार्यक्रमले बालमृत्यु रोकथाममा ठूलो सहयोग पुर्याएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पुस्करराज जोशी (लख्खाभाई) ले दशरथचन्द नगरपालिका स्वास्थ्य क्षेत्रमा संवेदनशील र जिम्मेवार रहेको बताउनुभयो । घोषणापत्रमा उल्लेख भएका सुरक्षित मातृत्व अन्र्तगत हरेक वडाबाट सुत्केरीहरुको निशुल्क एम्बुलेन्समार्फत उद्यार गरि उपचारको व्यवस्था मिलाईएको नगरप्रमुख जोशीले बतउभयो । विपन्न नागरिकका लागि निशुल्क एम्बुलेन्स र शव बहानको समेत व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

नगर पूणखोप घोषणा कार्यक्रममा जिल्ला समुन्वय समिति कार्यवहाक प्रमुख दमन बहादुर कुँवर र प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति रहेको थियो । यस वर्ष पूर्णखोप सुनिश्चित हुने दशरथचन्द नगरपालिका तेश्रो हो । शिवनाथ र पुचौँडी यस अघिनै पूर्णखोप सुनिश्चित भइसकेका छन् ।










