०८२ साउन २६ । बैतडी- झाडापखला लागेपछि स्वास्थ्यसंस्था लैजानुको साटो धामीझाँक्रीबाट उपचार गराउदा बैतडीमा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–४ का सुरेन्द्र रोकायाकी– १३ बर्षीय छोरी आरती रोकायाको सोमबार बिहान झाडापखालाबाट मृत्यु भएको हाडाकोट स्वास्थ्य चौकी इन्चार्ज विरेन्द्र बोहराले बताउनुभयो ।
परिवारले बालिकालाई उपचारका लागी स्वास्थ्य संस्था लैजान नमानेपछि ज्यान गएको उहाँको भनाई छ । बोहराका अनुसार स्वास्थ्य संस्था लैजानुको सट्टा घरमै धामीझाक्री बोलाएर झारफुख गर्नमै तीन दिन बिताएपति बालिकाको मृत्युु भएको हो । मृत्युको खबर पाएपछि स्वास्थ्यकर्मी घटनास्थल पुगेका थिए । मृतक बालिकाको घरबाट स्वास्थ्य चौकी पुग्न ढाई घण्टा लाग्छ ।
मृतक बालिकाका ११ बर्षीय भाई कपील रोकायालाई पनि झाडापाखाला देखिएको छ । झाडापखाला सुरुवात भएका कपीलको स्वास्थ्य समान्य रहेकाले औषधि दिएर आएको इन्चार्ज बोहराले बताउनुभयो ।
बालिका महेश्वरी मावि न्वाघरमा कक्षा ८ मा अध्ययनरत हुन् । मृतक बालिकाका बुबा रोजगारीको लागि भारतमा रहेका छन् । बैतडीमा गत आर्थिक बर्षमा ४ हजार ५ सय ३९ जनामा झाडापखाला देखिएको स्थास्थ्य कार्यालय बैतडीको तथ्यांक छ । तथ्यांक अनुसार देखिएका सबै रोगी स्वास्थ्य उपचार गरेपछि ठिक भएका स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपीन लेखकले बताउनुभयो । प्राय झाडापाखाला फोहर पानीबाट हुने भएकाले शुद्ध पानी पिउन वा पानीलाई उमालेरमात्र प्रयोग गर्न लेखकले आग्रह गरेका छन् ।











