गौरब चन्द । २ भदाै, ०८२ – युएनएफपीए र सिएमसी नेपालकाे आर्थिक सहयोगमा जिल्ला अस्पताल बैतडीमा संचालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मार्फत एक वर्षको अवधिमा दुई सय ४२ जनाले सेवा लिएका छन् । सोमबार आयोजना गरिएको वार्षिक समिक्षा बैठकमा ओसीएमसी संयोजक डाक्टर सीजन खड्काले आर्थिक वर्ष ०८१/०८२ मा दुई सय ४२ जनाले विभिन्न प्रकारका सेवा लिएको बताउनुभयो ।
सोमबार जिल्ला अस्पताल बैतडीको आयोजनामा सम्पन्न वार्षिक समिक्षा बैठकमा एकद्वार संकट व्यवस्थापन केन्द्रमा विगत एक वर्षमा भएका गतिविधि, देखिएका चुनौती र आगामी योजनाबारे विस्तृत समीक्षा गरिएको थियो ।

बैतडीका १० वटा पालिकाका दुई सय ४४ र जिल्ला बाहीरका ८ जनाले सेवा लिएको तथ्याङ्क प्रस्तुत गरिएको छ। लैङ्गिक हिंसा प्रभावितहरुलाई ओसीएमसीबाट कानूनी, उपचारात्मक तथा परामर्श सेवा दिने गरिन्छ ।
सेवा लिने पीडितहरूमा दशरथचन्द नगरपालिका एक ५५ जना, पाटन नगरपालिकाका २१ जना, मेलौली नगरपालिकाका १३ जना र पुचौँडी नगरपालिकाका ३ जना छन् । यस्तै सुर्नया गाउँपालिका १५ जना, डोगडाकेदार गाउँपालिकाका ८ जना, पञ्चेश्वर गाउँपालिकाका ६ जना, डीलासैनी गाउँपालिकाका ४ जना, शिवनाथ गाउँपालिकाका ३ जना र सिगास गाउँपालिकाका ३ जना छन् । ८ जना सेवाग्राही भने जिल्ला बाहीरका रहेको ओसीएमसीका मनोसामाजिक परामर्शकर्ता तारा भट्टले बताउनुभयो ।

आसीएमसीमा आउने मध्ये शारीरिक हिंसामा परेका ५३ जना, मानसिक हिंसा प्रभावित ९७ जना, स्रोत साधनबाट वञ्चित ६५ जना, बलात्कारका घटनाबाट पीडित १३ जना, बलात्कार प्रयास घटनाबाट प्रभावित ४ जना, बहुविवाहबाट पीडित ४ जना, बालविवाहबाट पीडित ४ जना र यौन दुर्व्यवहारका घटनाबाट पीडित २ जना छन् ।
समीक्षा बैठकमा उपस्थित जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायक उपरीक्षक मकेन्द कुमार मिश्रले हिंसा पीडितको गोपनीयता कायम राख्दै प्रत्येक घटनामा प्रहरीले जिम्मेवार भएर ओसीएमसीलाई सहयोग गरिरहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशीले दशरथचन्द नगरपालिकामा पीडितको संख्या बढी हुनुको कारण सदरमुकाम भएकाले गुनासो सुन्ने सुविधा र सेवा सहज रुपमा उपलब्ध हुनु रहेको बताउनुभयो । दशरथचन्द नगरपालिकामा रहेको सेफ हाउस संचालमा ल्याई अझै यस्ता सेवालाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाई थियो । दशरथचन्द नगरपालिकामा विगत १२ वर्ष अघी बनेको सेफ हास हालसम्म संचालनमा अनउन नसक्दा झाडीमा परिणत भएको छ ।
कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले आसीएमसीले हिंसा पीडितलाई पुर्नस्थापनामा महत्वपुर्ण सहयोग गरेको बताउनुभयो ।
बैठकमा जिल्लामा भइरहेको हिंसा न्यूनीकरण र पीडित पुर्नस्थापनाका लागि सहकार्य र समन्वयलाई अझै मजबुत बनाउँदै लैजानुपर्नेमा कार्यक्रममा सहभागीहरूले जोड दिएका छन् ।











