८ मंसिर, बैतडी- नेपाल-भारत सिमानाकाका स्थानीय ग्रामिण क्षेत्रका नागरिकहरुसंग सम्बन्ध बढाउन सशस्त्र प्रहरीले विभिन्न कार्यक्रमहरु गरिरहेको छ । सिमा नाकामा बस्ने नागरिकहरुसंगको सम्बन्धले सिमा अपराध नियन्त्रण, तस्करी र सिमा सुरक्षामा समेत सहयोग पुग्ने भएकाले उनिहरुसंगको सम्बन्ध विस्तारका लागि सशस्त्र प्रहरीले विभिन्न कार्यक्रमहरु गरिरहेको हो ।

जस अन्तरगत बैतडीमा रहेको सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्मले भारत संग सिमा जोडिएको माहाकाली नदी नजिकका जिल्लाको पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा रहेका ग्रामिण क्षेत्रमा विभिन्न कार्यक्रम गरिरहेको छ । पञ्चेश्वर गाउँपालिका– १ धाउकुडीमा रहेको भूमिराज आधारभूत विद्यालयका ४० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको सशस्त्र प्रहरीले शिवनाथ गाउँपालिका– १ कुस्मौतघाट नजिकका २९ जना विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई कम्बल (ब्याङ्केट) वितरण गरेको हो ।

देशको सिमा, राष्ट्र र संगठनप्रति सिमानाका नागरिकहरुको सकारात्मक धारणा विकासका लागि समेत यस्तो कार्यक्रम गरिएको सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्मका गुल्मपती जंगबहादुर कुँवरले बताउनुभयो ।

सिमा नाकाका नागरिकहरुबाट सिमा अपराध, सिमा अतिक्रमण तथा तस्करी सम्बन्धि समेत सूचना पाइने भएकाले उनिहरुसंगको सकारात्मक सम्बन्ध अपरिहार्य रहेको कुँवरको भनाई छ । निकट भविश्यमा सिमा क्षेत्रमा स्वास्थ्य शिविर समेत संचालनको तयारी रहेको उहाँको भनाई छ ।








