२ माघ, बैतडी । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य चुनावलाई लक्षित गर्दै बैतडी जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यसहित जिल्ला अदालत बैतडीमा कार्यालय स्थापना गरिएको हो ।
एक निर्वाचन क्षेत्र रहेको बैतडीमा जिल्ला अदालत बैतडीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत तिर्थराज भट्टले बताउनुभयो ।

कार्यालय स्थापना कार्यक्रम विभिन्न कार्यालयलका प्रमुखहरू, निर्वाचन कार्यालयका कर्मचारी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो । कार्यक्रम उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आशन्न निर्वाचनलाई निष्पक्ष, शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मिहरु तयारी अवस्थामा रहेको बताउनुभयो ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै जिल्लामा निर्वाचन लक्षित गतिविधिहरू तीव्र रूपमा अगाडि बढेका छन् । मतदाता नामावली अद्यावधिक, निर्वाचन आचारसंहिता कार्यान्वयन, सुरक्षा व्यवस्थापन तथा राजनीतिक दलहरूसँग समन्वयजस्ता कामहरू सुरु भएको मुख्य निर्वाचन अधिकृत भट्टले बताउनुभयो ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीमा १ सय २९ मतदानस्थल र २ सय १४ मतदान केन्द्र कायम भएका छन् ।












