४ असोज, धनगढी । प्रदेश सरकारको नीति तथा कार्यक्रममा नागरिक सहभागिता अभिबृद्धीलाई प्राथमिकिकरणमा राखेर कार्य गरिरहेको सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापाले बताउनुभयो ।
सुदुरपश्चिम प्रदेशमा नागरिक सहभागिता अभिबृद्धीका लागि गठन गरिएको मल्टि स्टेकहोल्डर सिभिल इंगेज्मेन्ट एड्भोकेसी प्लेटफोरमका सदस्यहरुका लागि आइतबार प्रदेश राजधानी धनगढीमा आयोजना गरिएको दुई दिने तालिमको उद्घाटन सत्रमा बोल्दै मन्त्री थापाले यस्तो बताउनुभएको हो ।

बागेश्वरी असल शासन क्लब (बास) नेपालले आयोजना गरेको तालिम उद्घाटन सत्रको प्रमुख अतिथि समेत रहेका मन्त्री थापाले लोकतन्त्रमा नागरिक शिक्षा अपरिहार्य रहेको बताउदै सरकार र नागरिक बिचको सम्बन्धलाई मजबुद बनाउन प्लोटफर्म प्रभावकारी रहने विश्वास ब्यक्त गर्नुभयो ।
सामाजिक विकास मन्त्रालयले नागरिक सहभागिता अभिबृद्धीका लागि कार्य गर्ने प्लेटफर्महरुसँग सहकार्य गर्न तयार रहेको जनाउदै मन्त्रालयमा आएर आवश्यकता अनुसार छलफल गर्न समेत उहाँले अनुरोध गर्नुभयो । प्रदेश युवा परिषदलाई बलियो बनाउन योजनावद्ध तरिकाले काम गरिरहेको बताउदै प्रदेश सरकार बजेट निर्माणको कार्यमा रहेकाले आवश्यक सुझाव पेश गर्न समेत प्लेटफर्मलाई अनुरोध गर्नुभयो ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा भएको उद्घाटन सत्रमा युएनडिपी नेपालका युवराज आचार्यले मल्टि स्टेकहोल्डर सिभिल इंगेज्मेन्ट एड्भोकेसी प्लेटफोरम को उद्धेश्य, गठन प्रक्रिया र प्लेटफर्मले गर्ने कार्यको बिषयमा जानकारी गराएका थिए । उद्घाटन सत्रमा युवा परिषदका सदस्य प्रतिक्षा ओलीको उपस्थिती रहेको थियो ।


दुई दिन सम्म चल्ने तालिममा एडभोकेसी प्लेटफर्मका विभिन्न बिषयमा युएनडिपी नेपालका युवराज आचार्य, इना केरुङ्ग र बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरिरहनुभएको छ ।


स्वीस सरकार विकास सहयोग एसडीसीको सहयोग तथा युएनडिपी नेपालको साझेदारीमा बास नेपालद्धारा सञ्चालीत लोकतान्त्रीक सहभागिता प्रबद्र्धनकालागि नागरिक संलग्नता अभिबृद्धी परियोजना अन्तरगत तालिम आयोजना गरिएको हो । तालिममा सुदुरपश्चिम प्रदेशका विभिन्न क्षेत्रका २५ जना प्लेटफर्म सदस्यहरुको सहभागिता रहेको तालिम असोज ५ गते सम्म चल्नेछ ।









