धनगढी– सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीको कमाण्ड समालिरहेका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) जंगबहादुर कुँवर यस वर्ष सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट कमाण्डर घोषित भएका छन्।
२५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा शुक्रबार आयोजित औपचारिक कार्यक्रममा सुदूरपश्चिम पदेशभरीका जिल्ला कमाण्डरहरूमध्ये उत्कृष्ट कमाण्डर घोषित कुँवरलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो।
संगठन परिचालन, कमाण्डिङ क्षमता, नागरिक–सशस्त्र प्रहरी सम्बन्ध सुदृढीकरण तथा सीमा अनुगमनमा उल्लेखनीय कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा कुँवरलाई उत्कृष्ट कमाण्डरको सम्मान प्रदान गरिएको जनाइएको छ।
डिएसपी कुँवरको नेतृत्वमा रहेको बैतडीस्थित सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म पनि प्रदेशभरि उत्कृष्ट गुल्म घोषित हुन सफल भएको छ।
उत्कृष्ट घोषित कुँवरलाई अभिलेखमा रहने गरी सम्मान तथा पुरस्कार वितरण गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।









