बैतडी : शिवनाथ गाउँपालिका – ३ मा रहेको श्रीपुर स्वास्थ्य सेवा केन्द्र र जय नागार्जून बहुउद्देश्यीय कृषक समूहबीच बिरामीहरूको हितलाई केन्द्रमा राखी एक सम्झौता भएको छ । सम्झौतामा वडाभित्रका नागरिक भौगोलिक विकटताका कारण समयमै अस्पताल पुग्न नसक्ने बिरामीहरूका आपतकालीन अवस्थामा तत्काल स्वास्थ्य सेवा केन्द्रसम्म पुर्याउने र त्यस्ता सवारी साधनहरूलाई इन्धन खर्च उपलब्ध गराउने उल्लेख छ ।
मोटरसाइकलले ३० किलोमिटर यात्रा गरेबापत १ लिटर पेट्रोल प्राप्त गर्नेछन् भने चारपाङ्ग्रे गाडीहरूले प्रति १० किलोमिटर यात्राबापत १ लिटर डिजेल प्राउने सम्झौतामा उल्लेख छ । यो व्यवस्थाले ग्रामीण क्षेत्रमा सवारी साधनको अभाव र महँगो भाडाका कारण समयमै उपचार नपाउने समस्यालाई न्यूनीकरण गर्ने विश्वास लिइएको श्रीपुर स्वास्थ्य सेवा केन्द्र प्रमुख मोहन कलौनीले बताउनु भयो ।
सम्झौतालाई पारदर्शी र व्यवस्थित बनाउन दुबै पक्षले विभिन्न शर्तहरू तय गरेका छन् । सम्झौता पत्रमा जय नागार्जून बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष केशव दत्त कलौनी र श्रीपुर स्वास्थ्य सेवा केन्द्रका प्रमुख मोहन दत्त कलौनीले हस्ताक्षर गर्नुभएको छ ।
गाउँका विपन्न नागरिकहरूलाई स्वास्थ्य संकटका बेला आर्थिक बोझ नपरोस् भन्ने उद्देश्यले सम्झौता गरेको समुहका अध्यक्ष कलौनीले बताउनु भयो ।












