बैतडीमा पाँच उम्मेदवारले मात्र खोल्यो बैंक खाता बाँकीले खोलेन

बैतडी– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा ११ जना उममेदवार मध्ये पाँच जनाले मात्र बैंक खाता खोलेको छन् । अझै ६ जना उम्मेदवारले बैंक खाता खोलेका छैनन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार शुक्रबारसम्म उम्मेदवारी दिएका ११ उम्मेदवारमध्ये ५ जनाले मात्रै निर्वाचन प्रयोजनाका लागि नयाँ बैंक खाता खोलेका छन् ।

बैंक खाता खोल्नेमा नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्द, राप्रपाका उम्मेदवार भुपेनबहादुर चन्द, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार आनसिंह भण्डारी, रास्वपाका उम्मेदवार हरीमोहन भण्डारी र श्रमसंकृति पार्टीका गजेन्द्रराज पण्डेय रहेका छन् ।

यस्तै खाता नखोल्नेमा नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारी, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार नवराज कोइराला, आमजनता पार्टीका उम्मेदवार विसनसिह बोहरा, नेकपाका उम्मेदवार परमानन्द भट्ट, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार रामबहादुर कंवर र स्वतन्त्र उम्मेदवार जयप्रकास पन्त रहेका छन् ।

आज (शनिबार) मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन आचार संहिता अनुगमन समितिको राजनितीक दलका प्रतिनिधिसंगको छलफलमा बैतडी निर्वाचन कार्यालयका निर्वाचन अधिकारी खगेन्द्र भारतीले बाँकी रहेका ६ जना उम्मेदवारले पनि यही फागुन ५ गतेभित्र खाता खोलिसक्नु पर्ने आग्रह गरे ।

निर्वाचन आचारसंहिता अनुसार कुनैपनि उम्मेदवारले निर्वाचनमा हुने खर्च तथा प्राप्त गर्ने सहयोग बैंकिङ प्रणालीबाट मात्रै गर्नु पर्छ । २५ हजारभन्दा बढीको सहयोग तथा खर्च बैंकबाटै र त्यसभन्दा कमको नगदै लेनदेन गरे पनि रसिदहरू भने दाखिला गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया छाेड्नुहाेस्