बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिकाले गाउँपालिका भित्रका सबै वडाका मेलमिलापकर्तालाई सामुदायिक मेलमिलाप सम्बन्धी आधारभूत तालिम दिएको छ ।
आधारभुत तालिममा गाउँपालिकाका ६ वटै वडाबाट २४ जना मेलमिलापकर्ता सहभागी थिए । मेलमिलाप कार्यको सिद्धान्त, विवादको स्वरुप, विवाद समाधान कार्यमा मेलमिलापकर्ताको भूमिका र सामाजिक न्याय मानव अधिकार तथा प्रचलित कानुनको बारे सिकाइएको तालिमका प्रशिक्षक भुवन शर्माले बताउनु भयो ।
आठ दिने मेलमिलाप सम्बन्धी आधारभूत तालिमबाट विवादलाई कसरी मिलाउने, मेलमिलाप सम्बन्धी आधारभूत जानकारीका साथै नियमकानुनको बारेमा आधारभूत कुराहरु सिकेको तालिमका सहभागी विशाल महरले बताउनु भयो । यो आधारभूत तालिमबाट गाउँसमाजमा हुने समान्य विवादहरुलाई मिलाउँदा आवस्यक पर्ने कानुनी कुरा देखि लिएर समाधान गर्ने तरिकाबारे तालिमबाट सिकेको तालिमका अर्का सहभागी कृष्णा शाहीले बताइन् । अझै अर्को बर्ष यो भन्दा लामो अवधीको तालिम पाए मेलमिलाप सम्बन्धी धेरै कुराको जानकारी हुने भएकाले वडामा मेलमिलाप गर्नमा यो भन्दा बढी सहयोग पुग्ने उनले बताइन् ।
गाउँपालिकाका प्रत्यक वडाका मेलमिलापकर्ता लाई यस सम्बन्धि आधारभूत कुराको ज्ञान होस र मेलमिलाप गराउनमा सहज होस भन्ने उद्देश्यले सामुदायिक मेलमिलाप सम्बन्धी आधारभूत तालिमको आयोजना गरिएको पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष एवं न्यायीक समिति संयोजक बीना भट्टले बताइन । अगामी आर्थिक बर्षमा प्रत्यक वडामा मेलमिलापकेन्द्र गठन गरिने उनले बताए ।
अहिले समाजमा विभिन्न प्रकारका विकृति फैलिरहेकाले समाजमा ससाना कुरामा पनि विभिन्न विवाद आइरहने हुनाले यो तालिमबाट यी समान्य विवाद सामाधान गर्न स्थानीय मेलमिलापकर्तालाई सहयोग पुग्ने तालिम समापनका प्रमुख अथिती एवं बैतडी जिल्ला अदालतका न्यायधीस तिर्थराज भट्टले बताए ।
यो तालिममा सिकेका कुरा आफ्नो गाउँसमाजमा लागु गरी मेलमिलापमा गर्नमा अहम भुमिका खेल्न मेलमिलापकर्तालाई गाउँपालिका अध्यक्ष गोरख चन्दले आग्रह गरे ।












