बैतडीकी भुन्टीले ७२ वर्षमा पाइन नेपाली नागरिकता

बैतडी: बैतडीको दशरथचन्द नगरपालिका-१ पितलथलाकी भुन्टी लुहारले ७२ वर्षमा बल्ला नेपाली नागरिकताको प्रमाणपत्र पाइकी छिन् । बिहीबार प्रमुख जिल्ला अधिकारी मीना अर्यालले वडा कार्यालयमै गएर भुन्टीलाई नेपाली नागरिकता हस्तान्तरण गरेका हुन् । ‘अशक्तको घरमा प्रजिय कार्यक्रम’ अन्तरर्गत भुन्टीलाई वडामै गएर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

सुस्त मनस्थितीकी भुन्टीले अहिलेसम्म नागरिकता पाउन सकेकी थिइनन् । वडा कार्यालयमार्फत अशक्त तथा अपांगता भएका नागरिकको विवरण संकलन गरेपछि भुन्टीलाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो।

७२ बर्षपछि नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि भुन्टी विक र उनका आफन्त खुसी भएका छन् । नागरिकता नभएकै कारण सामाजिक सुरक्षाभत्ता समेत पाउन नसकेकी भुन्टीलाई अब सामाजिक सुरक्षा भत्ता प्राप्तिमा समेत सहज हुने भएको छ ।

दीदीको नागरिकता बनेपछि निकै खुसी लागेको उनका भाइ रमेश लुहारले बताउनुभयो। यसअघि प्रशासन कार्यालयमा जान नसक्दा नागरिकता बनाउन नसकेको र वडामै नागरिकता पाएपछि धेरै खुसी लागेको उहाँले बताउनुभयो ।

default

‘अशक्तको घरमा प्रजिअ कार्यक्रम’ अन्तर्गत जिल्लाभरीका अशक्त तथा अपांगता भएका नागरिकहरुको विवरण संकलनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो। नागरिकताबाट वञ्चित रहेका अशक्त तथा अपांगता भएका नागरिकहरुलाई सकेसम्म उनीहरुकै घरमा र नभए नजिकको वडा कार्यालयमा नागरिकता प्रदान गर्ने हिसाबले काम भइरहेको उनले बताउनुभयो।

यसअघि गएको बिहीबार दशरथचन्द नगरपालिका–६ की मानसिक अपांगता भएकी अस्मिता पन्तलाई उनको घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो ।

जिल्लाभरी डेढसयको हाराहारीमा यस्ता नागरिक हुन सक्ने आँकलन गरिएको छ । उनीहरु सबैलाई घरमै अथवा पायक पर्ने स्थानमा नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्ने हिसाबले योजना बनाइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् ।

प्रतिक्रिया छाेड्नुहाेस्