अर्णव चक्रवातको सम्भावित जोखिमबाट सुरक्षित रहन बैतडी प्रशासनको आग्रह

बैतडी – बंगालको खाडीमा विकसित अर्णव चक्रवातका कारण बिहीबारदेखि शनिबारसम्म बर्षा, हावाहुरी, चट्याङ र उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन बैतडी प्रशासनले सम्पूर्ण जिल्लावासीलाई आग्रह गरेको छ ।

चक्रवातको प्रभावका कारण बर्षाको समयमा नदीहरुमा जलस्तर बढ्न सक्ने, बाढी, पहिरोजस्ता जोखिमहरु निम्तिन सक्ने भएकाले सुरक्षित भएर बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी अर्याल द्धारा हस्ताक्षरित सतर्कता सूचनामा यो समयमा मौसमसम्बन्धी आधिकारिक सूचना र जानकारी लिन र सोही अनुसार निर्देशन पालना गर्न, बर्षा शुरु हुनु अघि नै पाकेको धानबाली भित्र्याउन आग्रह गरिएको छ भने बर्षाको समयमा नदी किनारमा आवतजावत नगर्न पनि आग्रह गरिएको छ ।

यस्तै जोखिमयुक्त सडक क्षेत्रमा यात्रा नगर्न, विपद्सम्बन्धी कुनै घटना भएमा तत्काल नजिकको स्थानीय तह, प्रहरी र सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले निकालेको पछिल्लो मौसमी बुलेटिनअनुसार देशका केही ठाउँमा भरेदेखि पर्सि शनिबारसम्म ठूलो वर्षा र हिमपात हुनेछ भने आइतवारदेखि मौसममा सुधार आउनेछ ।

कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ । त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै ठाउँमा मेघ गर्जन र चट्याङ तथा असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

256

प्रतिक्रिया छाेड्नुहाेस्