सदस्यता लिएको हप्ता दिन नबित्दै शर्माको सदस्यता डिएक्टिभेट

बैतडी- स्थानीय तह निर्वाचन २०७९ मा दशरथचन्द नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएर चुनाव लडेका दिपक शर्मालाई राष्ट्रिय स्वतन्त्र पार्टीले सदस्यता लिएको हप्तादिन नवित्दै डिएक्टिभेट गरेको छ । दशरथचन्द नगरपालिका– ७ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको अनलाइन सदस्यता लिएका शर्मालाई अनुशासन उलंघन गरेको भन्दै डिएक्टिभेट गरिएको हो ।सदस्यता डिएक्टिभेट भएसंगै शर्माले अब रास्वपाको क्यान्डिडेट क्लबमा समेत नाम रजिष्टर गराउन पाउने छैनन् ।

यता शर्माले भने आफुलाई कुनै जानकारी बिना सदस्यता डिएक्टिभेट गरिएको बताएका छन् । गलत गतिविधिका बिरुद्धमा आफुले आवाज उठाएका कारण आफ्नो सदस्यता डिएक्टिभेट गरिएको उहाँको भनाई छ । शर्माले भन्नुभयो, ‘मैले कुनै कमजोरी गरेको छु भने मलाई भन्ने हो, स्पष्टिकरण सोध्ने हो, व्यक्तिगत इगो साँध्दै मलाई एकलौटी तरिकाले हटाउने काम भयो ।’ युवाहरुको सल्लाह अनुसार वडा अध्यक्षको उम्मेदवारी रजिष्टर गराउन चाहेपछि आफुमाथी यस्तो गरिएको शर्माको आरोप छ । पार्टी सभापती र नगर सभापतीले गरेका गलत कामका बारेमा आफुले चुप नबसेकाले व्यक्तिगत रिसिबिजस्तै गरेर आफ्नो सदस्यता निलम्बन गरेको शर्माको आरोप छ ।

वडा सभापतिकाे सिफारिस अनुसार नगर सभापतीले शर्माको सदस्यता निलम्बनका लागि जिल्ला समितिमा सिफारिस गरेपछि उनको सदस्यता डिएक्टिभेट गरिएको नगर सभापती बिरादत्त पन्तले बताउनुभयो । पार्टी र नेतृत्वबिरुद्ध निरन्तर भ्रम सृजना गरेको, सामाजिक सञ्जाल मार्फत पाटन नगरपालिकाका एक शिक्षकलाई मानसिक रुपमा तनाब दिने गरेको तथा अनावश्यक रुपमा सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण कुराहरु प्रचार गरेको आरोपमा सदस्यता निलम्बन गरिएको पन्तले बताउनुभयो । पन्तले भन्नुभयो, ‘दिपक शर्माले पाटन नगरपालिकाको एक शिक्षकलाई निरन्तर सामाजिक सञ्जाल मार्फत टर्चर दिने गरेको उजुरी परेको छ । समाजमा पनि उछ्रिङ्खल तरिकाले समाजिक सञ्जाल मार्फत भ्रम सृजना गर्ने तथा पार्टी नेतृत्वको व्यक्तिगत मानमर्दन गर्ने खालका गतिविधि गरेको भन्दै औपचारिक गुनासो आएको छ ।’

सामाजिक सञ्जाल मार्फत व्यक्तिगत मानमर्दन गरेकाले आफुले शर्माको बिरुद्धमा प्रहरीमा जाहेरी दिने तयारी गरेको समेत पन्तले बताउनुभयो । रास्वपा जिल्ला सभापती भीम नाथले भने यस विषयमा नगर सभापतिलाई बढी थाहा भएको बताउनुभयो, ‘उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जाल मार्फत समाजमा उछ्र्रिङखल खालका गतिविधि गर्दै आएको भन्ने छ, म अहिले कार्यक्रममा छु, मलाई भन्दा यस विषयमा नगर सभापतीलाई बढी थाहा छ ।’

प्रतिक्रिया छाेड्नुहाेस्