बैतडी– बैतडीमा एक पुरुषले कोदालो प्रहार गरेर घाइते बनाएका गाउंपालिकाका दुई जना कर्मचारीलाई हेलिकोप्टर मार्फत नेपालगञ्ज लगिएको छ ।
डिलाशैनी गाउँपालिका वडा नं ७ का अन्दाजी ६२ बर्षीय कृष्ण धामीले कोेदालोले हिर्काउँदा गम्भीर घाइते भएका पालिकामा कार्यरत कर्मचारी सुवास कलौनी र कार्यालय सहयोगी देवराज भट्टलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत कोहलपुर मेडिकल कलेज नेपालगन्ज लगिएको हो । बिहीवार बिहान ७ बजेतिर धामीले कोदालो प्रहार गर्दा उनकी श्रीमती ५६ बर्षीया पार्वती धामीको मृत्यु भएको छ ।
कोदालोको बिँडले हिर्काएर श्रीमतीको हत्यापछि धामीकै घरमा डेरा गरेर बसेका पालिकाका कर्मचारीमाथि पनि उनले आक्रमण गरेका थिए ।
धामीको आक्रमणबाट दशरथचन्द नगरपालिका ९ घर भइ डिलाशैनी गाउँपालिकाको उद्यम विकास शाखा प्रमुखको रूपमा कार्यरत २९ बर्षीय सुवास कलौनी र गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताउनुभयो ।
घाइते मध्ये भट्टको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक केसीले बताए । घटनाको कारण भने अझै खुल्न सकेको छैन् । कोदालो प्रहार गर्ने कृष्ण धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो ।