बझाङ– बझाङमा स्थानीयको ढुङ्गा प्रहारबाट प्रहरी घाइते छन् । जिल्लाको केदारस्युँ गाउँपालिका–९ झोता बजारमा युवकले प्रहरीलाई ढुङ्गा प्रहार गरेर घाइते बनाएका हुन् ।
आइतवार राति झोता बजारस्थित होटल के एम डिमा कोठा लगेर बसेका दुर्गाथली गाउँपालिका–२ का ३२ वर्षीय विनोद रावल र जयपृथ्बी नगरपालिका–७ का दिनेश महरले मादक पदार्थ सेवन गरेर एक आपसमा झगडा र होहल्ला गरेका थिए ।
होटल सञ्चालक कौशीला धामीले प्रहरीलाई खबर गरेपछि प्रहरी हवल्दार गणेश मल्लको कमाण्डमा ४ जनाको प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले बताउनुभयो । रावल र महरलाई नियन्त्रणमा लिने क्रममा विनोद रावलले धुली बझाङ दरबन्दी भएका सहायक प्रहरी हवल्दार योगेन्द्र खड्कालाई ढुङ्गा प्रहार गरका हुन् ।
ढुङ्गा प्रहारबाट सहायक प्रहरी हवल्दार खड्काको टाउकोमा चोट लागेको छ। उनको प्राथमिक स्वास्थ्य चौकी झोतामा सामान्य उपचार पश्चात जिल्ला अस्पताल बझाङमा उपचार भईरहेको छ । कुटपिट गर्ने रावल र महरलाई प्रहरीको नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । कुटपिटबाट घाइते प्रहरी हवल्दार खड्काको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिनुभयो ।









