बैतडीमा जबरजस्ती करणी मुद्दा मिलेमतो गर्ने वडाध्यक्षसहित शिक्षक पक्राउ

बैतडी– बैतडीमा एक वडाअध्यक्षसहित शिक्षक पक्राउ परेका छन् ।

जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्षसहित शिक्षक पक्राउ परेका हुन् । सिगास गाउँपालिकाका प्रवक्ता समेत रहेका अमरसिंह धामीसहित शिक्षक पक्राउ परेका छन् ।

चार वर्ष अघि जबरजस्ती करणी मुद्दा मिलोमतो गरेको आरोप लागेका गाउँपालिकाका प्रवक्तासहित तीन जना पक्राउ परेका छन् ।

सोमबार वडाअध्यक्ष धामी, गाउँपालिकाका कर्मचारी राजेन्द्रसिंह धामी र भुवन भास्कार माविका शिक्षक मनोजसिंह धामी पक्राउ परेका हुन् ।

२०७७ सालमा स्थानीय दिपक सिंह धामीमाथि एक १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो । घटना बाहिर आएपछि वडाअध्यक्ष अमरसिंह, शिक्षक मनोजसिंह, कर्मचारी राजेन्द्र सिंह लगायतले तमसुक बनाएर घटना मिलोमतो गरेका थिए ।

आरोपित दिपकले जबरजस्ती करणीमा परेकी किशोरीलाई सुन दिने सहमतिसहितको तमसुक बनाएका थिए । मिलोमतोमा संलग्न अर्का गोपालसिंह धामीले कैद भुक्तान गरेर छुटिसकेका छन् । सोही तमसुकको साँची बसेका अध्यक्ष, शिक्षक र कर्मचारी सोमबार पुनः पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई उच्च अदालत दिपायल कञ्चनपुरले एक महिना कैद सजाय तोकेको छ। त्यसमध्ये वडाअध्यक्ष र शिक्षक २७ दिन कारागार बसेका थिए ।

उनीहरूले अब ३ दिनमात्रै बस्नुपर्नेछ। यसअघि २५ दिन कैद भुक्तान गरेका राजेन्द्रले ५ दिन पुनः बस्नुपर्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमबिक्रम केसीले बताउनुभयो ।

तीनै जनाले १० हजार जरिवना पनि तिर्नुपर्नेछ । जबरजस्ती करणीमा संलग्न दिपकसिंह धामी भने फरार छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्