धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनु भएको छ । प्रदेश सभामा बिहिवार विश्वासको मत लिने तयारीमा रहेका शाहले अन्तिममा आएर बहुमत नपाउने भएपछि राजीनामा दिएका छन् ।
मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाएका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बिहिवार दिउसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो। मुख्यमन्त्री शाहको पक्षमा बहुमत नजुटेपछि उनले राजीनामा बुझाएका हुन्।
माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रदेशका मुख्यमन्त्री शाहको साथ छोडेकाले उनी अल्पमतमा परेका थिए। सरकारले कुनै पनि पार्टीको साथ गुमाएपछि सदनबाट ३० दिन भित्र विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ। नागरिक उन्मुक्ति र काँग्रेसको मात्र मुख्यमन्त्री शाहलाई समर्थन रहेको थियो।
नागरिक उन्मुक्ति पार्टी, राप्रपा र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको मत पाउने आशामा मुख्यमन्त्री शाह थिए। तर, नागरिक उन्मुक्ति पार्टीले मत नदिने भएपछि राप्रपा र स्वतन्त्र प्रदेश सभा सदस्यले पनि मत नदिने भनेपछि मुख्यमन्त्री शाह समस्यामा परेका थिए। सुदूरपश्चिममा माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी पार्टीसहितको नयाा गठबन्धनको प्रदेश सरकार गठनका लागि बाटो खुल्ला भएको छ।










