सुदूरपश्चिममा नाउपाका माननीय चौधरी ३ महिनाका लागि निलम्बित

कैलाली– नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई निलम्बन गरिएको छ ।

शुक्रवार पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले घनश्यामलाई कारबाहीस्वरुप ३ महिनाका लागि निलम्बित गरिएको बताइन् ।

उनका अनुसार पार्टी बैठकमा उपस्थित नभएको र स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नदिएकाले चौधरीलाई कारबाही गरिएको हो ।

श्रेष्ठले चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेको पत्र सभामुख भीम भण्डारीलाई पनि पठाएकी छन् । यसअघि केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई तोकेकी थिइन् ।

तर, संसदीय दलबाटै नेता छान्नुपर्ने भएकाले पार्टीको निर्णय लागू हुने नदेखेपछि श्रेष्ठले घनश्यामलाई निलम्बन गरेकी हुन् । घनश्याम रेशम चौधरी पक्षका हुन् । यस अगाडि श्रेष्ठले समानुपातिक सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाइसकेकी छन् ।

नाउपाले सुदूरपश्चिमआ आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा करिब टुङ्गो लागे पनि त्यसको नेतृत्वको विषयमा भने विवाद कायमै छ ।

प्रतिक्रिया छाेड्नुहाेस्