काठमाडौं- काभ्रेको रोशी गाउँपालिका-५, सीसाखानीमा रहेको बुद्धचित्तको रुख काटिएको प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेकी प्रमुख एसपी वसुन्धरा खड्काका अनुसार, घटनामा संलग्न रहेको आशंकामा श्यामकृष्ण मैनाली र अर्का राधाकृष्ण मैनाली पक्राउ परेका हुन् ।
अर्को पक्षले रुखको ठेक्का नपाएपछि काटिएको हुनसक्ने आशंका गरिएको छ । घर वरपर सकेट बम राखेर रुख काटिएको थियो । घर धनीलाई बाहिर निस्कन समेत नदिई अज्ञात समूहले रुख काटेको थियो ।
बुद्धचित्तको रुखमा फल्ने दाना धार्मिक प्रयोजनका लागि प्रयोग हुने गर्छ । नेपालको काभ्रेमा फल्ने बुद्धचित्तको दाना प्रशोधन गरेर चीन, तिब्बतबाहेक जापान, मकाउ, थाइल्यान्ड, कोरिया, भियतनामलगायत देशमा पनि पठाउने गरिन्छ ।