बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकामा एक घर, एक धारा अभियान सुरु भएको छ । नागरिकले शुद्ध खानेपानीको सहज उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न गाउँपालिकाले एक घर, एक धाराको अभियान प्रारम्भ गरेको हो ।
डिलाशैनी गाउँपालिकाको वडा नंं. ४ मठैराजबाट अभियानको सुरुवात गरिएको गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले बताउनुभयो । उहाँका अनुसार वडा नं. ४ बाट सुरु भएको अभियान क्रमिक रुपमा गाउँपालिकाभरीनै संचालन गरिने छ । अहिले गाउँपालिकाको वडा नं. ४ मा एक सय ५१ घर घुरिलाई पुग्ने गरि खानेपानी योजनाको निर्माणकार्य प्रारम्भ गरिएको छ ।
बजेट अभावमा गाउँपालिकाभरी एकैपटक अभियानको संचालन गर्न नसकिएपनि प्रतिवद्धता अनुसार विस्तारै गाउँपालिकाका हरेक घरमा खानेपानीको धारा बनाउने योजना रहेको उहाँले बताउनुभयो ।
गाउँपालिकाका करिब साढे चार हजार घरधुरीमा शुद्ध खानेपानीको सहज पहुँच स्थापित गर्न आफु प्रतिवद्ध रहेको समेत उहाँले बताउनुभयो ।