आकस्मिक बाहेकका सेवा बन्द गर्दै आन्दोलनमा उत्रिए डाक्टर

बैतडी- विगत नौँ महिनादेखि अतिरित्त सेवा र विदाको दिन सेवा गरेवाफतको रकम भुक्तानी नगरेको भन्दै बैतडी अस्पतालका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । डाक्टरहरुले आज (आइतबार) देखि आकस्मिक बाहेकका सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएका हुन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक-पटक पत्राचार गर्दा समेत चासो नदेखाएकाले दाबाव स्वरुप आन्दोलनमा उत्रिनुपरेको जिल्ला अस्पताल बैतडीका डाक्टर हरीष विष्टले बताउनुभयो ।

मन्त्रालयले आफुहरुको श्रम शोषण गरेको उनिहरुको आरोप छ । आफुहरु विरामीको सेवामा अहोरात्र खटिदा समेत मन्त्रालयले आफुहरुको रकम भुक्तानी नगरेको उनिहरुको आरोप छ । कमिशन मिल्ने उपकरण खरिदमा मन्त्रालय अग्रसर देखिएपनि डाक्टरहरुले काम गरेको रकम भुक्तानीमा मन्त्रालय उदाशीन देखिएको उनिहरुको आरोप छ । डाक्टर बाहेक जिल्ला अस्पतालका अन्य कर्मचारीहरुले समेत अतिरिक्त सेवा वाफतको रकम पाउन नसकेको जिल्ला अस्पताल बैतडीका डाक्टर धिरज जैसवालले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले विगतदेखिनै आफुहरुको रकम भुक्तानीका लागि माग गरेका हौँ तर मन्त्रालयले उक्त माग सम्बोधन गरेन् ।’

अस्पतालको सेवा प्रभावित हुने भएपछि यहाँका विरामी तथा सेवाग्राहीहरुलाई समेत समस्या हुने देखिएको छ । डाक्टर तथा अस्पतालका कर्मचारीहरुको टोलिले जिल्ला प्रशासन कार्यालयको समेत ध्यानाकर्षण गराएका छन् । जिल्ला अस्पतालका अख्तियार प्राप्त मेसु र अस्पताल व्यवस्थापन समिति अध्यक्ष सोही समस्या समाधानका लागि मन्त्रालयमा धाइरहेका छन् तर मन्त्रालय भने बैतडी अस्पतालको समस्यालाई नजरअन्दाज गर्दै बसेको छ । सेवा बन्द हुँदा समेत मन्त्रालय वेखबर छ ।

मन्त्रालयको पटक–पटक ध्यानाकर्षण गराउँदा समेत समस्या समाधान नभएकाले आफुहरु धनगढीमै रहेको जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष पार्वती भट्टले बताउनुभयो । आफुहरुको माग पुरा नभएसम्म ओपिडी सेवा संचालन नगर्ने डाक्टर तथा कर्मचारीहरुको अडान छ । जसका कारण यहाँका नागरिकहरुले समेत समस्या भोग्नुपरेको छ ।

यसबारेमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले नागरिकहरुलाई अप्ठ्यारो हुने काम नगर्न चिकित्सकहरुलाई सुझाएका छन् । उहाँले भन्नुभयो ‘तपाँईहरुका जायज मागको बारेमा मैले पनि सचिव ज्यू संग कुरा गरेको छु आशा छ समस्या समाधान होला, नागरिकहरुलाई तथा बिरामीहरुलाई मर्का पर्ने काम गर्नु भएन् ।’

प्रतिक्रिया छाेड्नुहाेस्