श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

बैतडी- श्रीमतीको हत्या गरेको आरोपमा बैतडी प्रहरीले जिल्लाको पाटन नगरपालिका ४ का चिल्लेपानीका ६५ वर्षीय प्रतापसिंह ऐरीलाई पक्राउ गरेको छ ।

प्रतापले ६० वर्षिया श्रीमती सुना ऐरीको कुटपीट गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो।

प्रतापको कुटाईबाट घाइते भएकी सुनाको बुधबार डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

घरायसी विवाद कारण मंगलबार दिउँसो श्रीमतीमाथि प्रतापले कुटपीट गरेका थिए । कुटपीटबाट घाइते भएकी सुनाको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि मंगलबार राति नै डडेल्धुरा रेफर गरिएको थियो । उपचारकै क्रममा सुनाको बुधबार साँझ ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतापको कुटपीटबाट उनकी बुहारी २२ बर्षीया भावना ऐरी समेत घाइते भएकी छन् । आफ्नी श्रीमतीमाथि कुटपीट गर्ने बेला झगडा छुट्याउन गएकी भावनाको खुट्टामा चोट रहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । 

प्रकाउ परेका ऐरीलाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया छाेड्नुहाेस्