बैतडी : मेलौली नगर खेलकुद विकास समतिका संयोजक सागर भण्डारीको राजिनमाको माग र नगरपालिकामा वडा अध्यक्ष र कर्मचारी विच भएको हातपातको सत्यतथ्य छानविनको माग गर्दै नेकपा एमाले मेलौली नगरकमिटीले विज्ञप्ती जारी गरेको छ ।
विज्ञप्तीमा नगर खेलकुद विकास समतिका संयोजक सागर भण्डारीले खेलकुदका नाममा अनावश्यक खर्च गरी डरत्रास र धम्की दिई नगरपालिकाबाट भुक्तानी लिने गरेको र सो कुराको विरोध गर्नेहरुलाई त्रास देखाउने गरेकाले निजलाई समितिबाट पदमुक्त गरि घटनाको न्यायिक छानविन गर्न उल्लेख गरिएको छ ।
यस्तै मेलौली नगरपालिका–०२ का पूर्व वडा अध्यक्ष महेन्द्र चन्दलाई नगर प्रमुख भिम बहादुर चन्दको निवासमा मेलौली नगर खेलकुद विकास समिति संयोजक भण्डारीले गालि बेज्जती र हातपात गरेको आरोप समेत लगाएका छन् । यसैगरी विज्ञप्तीमानै मेलौली–०९ का वडा अध्यक्ष लोकराज भट्टले नगरपालिकाको जिन्सी शाखामा कार्यरत चक्रमणी जोशीलाई कुटपिट गरेको घटनामा दोशिलाई कार्वाहीको माग गरिएको छ ।
