धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह दोहोरीयका छन् । काँग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मुख्यमन्त्री शाहको सपथ सोमबार हुनेछ। केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि मुख्यमन्त्रीबाट बाहिरिएको चार महिनामै शाहले दोहोरीयका हुन् । काँग्रेसमा मुख्यमन्त्रीका लागि संसदीय दलका नेता शाहसहित सांसदहरु प्रकाश देउवा, बहादुरसिंह थापा र दिवानसिंह बिष्टले दावी गरेका थिए।
अल्पमतमा परेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले गत शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गर्न आइतबार बेलुकी ५ बजेसम्मको समय दिएका थिए ।
सोमबार मन्त्रीसहित सपथ लिने तयारी रहेको बताइएको छ। सातवटा मन्त्रालय रहेको सुदूरपश्चिममा काँग्रेसले मुख्यमन्त्रीसहित तीन, एमालेले तीन र एक मन्त्रालय दिएर नागरिक उन्मुक्तिलाई पनि सहभागी गराउनेबारे छलफल भइरहेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।











