सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा सुरु (भिडियाे सहित)

बैतडी सुदूरपश्चिमेलीहरुको माहान पर्व गौरा आजदेखि सुरु भएको छ। पौराणिक कालमा भगवान शिवको प्राप्तिका लागि गौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वासमा मनाईने गौरा पर्व आजबाट सुरु भएको हो । आज पाँच प्रकरका अन्न (बिरूडा) भिजाएर गाैरा सुरू भएकाे हाे ।

भगवान शिवलाई पार्वतीले पाएको मान्यता अनुसार गौरा र महेश्वरको विवाहको सम्झना रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको छ । यो पर्वमा खास गरेर विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन्। यो पर्वमा शिव र पार्वतीको आराधना गरी वर्त वसे मनोकामना पुर्ण हुने जनविश्वास रहेको स्थानीय पण्डित लक्ष्मीदत्त पाण्डेले बताउनुभयो ।

यो पर्व सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्ड स्थित कुमाउँ प्रदेशमा पनि धुमधामका साथ मनाउने गरिन्छ। अहिले भारतको उत्तराखण्डमा पनि गौराको रौनकले छाएको भारतीय पत्रिका दैनिक जागरणका पत्रकार प्रमोद भट्टले बताउनुभयो । भट्टका अनुसार उत्तराखण्डमा गौरा पर्व धुमधामका साथ मनाईने गरिन्छ ।

गौरा पर्वको पहिलो दिन घर-घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न (बिरुडा) भिजाएर पर्वको थालनी गरिन्छ। गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पञ्चमी देखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ। गौरा पर्वको पहिलो दिन महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेडागुडी भिजाउने गर्छन्।

यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुरुस मिसाएर तामाका भाडामा भिजाउँने गर्दछन्। यी पाँच अन्नलाई  ‘बिरुडा’ भनिन्छ।महिलाहरुले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिक रुपमा बिरुडा धुन्छन। सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ मन्दिरमा डालोमा राखेर खेलाउने गरिन्छ ।

गौरा भित्रयाएर पुजा अर्चना गरि महिलाहरुले दुबधागो (विवाहित महिलाहरुले घाँटीमा लगाउने धागो) चढाउने गर्छन। चौथो दिन गौराष्टमीका दिन व्रत बसेर महिलाहरु बिहानैदेखि गौराखलो गौरा मनाउने स्थलमा फाग गाएर पूजाआजा गर्छन। साँझ पख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देविको पुजा गर्ने परम्परा रहिआएको छ। सोहि दिन महिलाले प्रशादका रुपमा बिरुडा ग्रहण गरि आ– आफ्ना घर परिवारका सदस्यको टाउकोमा पुजने र निधारमा बिरुडा थापिदिने गर्छन। महिलाले आफ्नो अटल सौभाग्य समृद्धि, सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसि पूजाआजा गर्ने मान्यता छ।

विरुडाले पुज्ने बेला यहाँका महिलाहरुले आफ्ना आफन्तहरुलाई हिमालजस्टै अटल रहनु, समुद्रको पानी छन्जेल बाँचिरहनु, दुई गाई दुहुनु पाउँनु, दुबोजस्तै फैलिरहनु, जोलि खाट निदाउँनु पाउनु लगायतका आशिस दिने गर्दछन् ।

गौरा पर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ।

बिरुडा भिजाएपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन्। धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजाआजा गर्ने गरिएको पण्डित दयाकृष्ण पन्तले बताए। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन्।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाँड्ने गरिन्छ। अनुकूल तिथि हेरी विसर्जन गरिने गौरा पर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुख शान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहिआएको छ।

सुदूरपश्चिमेलीहरुले दशैं भन्दापनि बढी महत्वका साथ यस पर्वलाई मनाउँछन्। त्यसैले गौरामा एकै छिन भएपनि देउडामा रमाउन परदेशिएकाहरु पनि घरपरिवार सम्झिएर फर्किने गर्छन। गौरामा विवाहित चेलीहरु पनि माइत आउने चलन छ।

गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्लाहरु र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो।

सुदूरपश्चिम र भातको उत्तराखण्डमा मात्रै मनाइने गौरा पर्व पछिल्लो समय देशका विभिन्न ठाउँ तथा विदेशमा रहेका नेपालीहरुले पनि धुमधामसंग मनाउने गरेका छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्