अज्ञात समुहद्वारा टेलिकमको टावर तोडफोड

बैतडी- अज्ञात समुहद्वारा सिगास गाउँपालिका- १ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावर तोडफोड गरिएको छ । स्थानीय गाजरी बजारबाट ३ घण्टाको पैदल दुरीमा रहेको टेलिकमको टावरमा तोडफोड गरिएको वडा अध्यक्ष रामचन्द्र ऐरले बताउनुभयो ।

टावरमा राखिएको कृषि विकास बैङ्कको सर्भर उपकरण समेत तोडफोड गरिएको उहाँले बताउनुभयो । भदौ १५ गतेबाट बैङ्कमा इन्टरनेट नचलेपछि बैङ्कका कर्मचारी टावर हेर्न जाँदा टावर तोडफोड गरिएको अवस्थामा भेटिएको थियो ।

टावर क्षती भएको बारेमा आज बिहानमात्रै जानकारी भएकाले प्रहरीको टोलि घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्सपेक्टर खेमविक्रम केसीले बताउनुभयो । प्रहरी टोलि पुगेपछि घटनाबारे थप अनुसन्धान थालिने केसीले बताउनुभयो ।

स्थानीय क्षेत्रमा इन्टरनेट नचलेपछि गाँजरीमा रहेको कृषि विकास बैङ्कले सेवा उपलब्ध गराउन असर्मथ रहेको सूचना समेत जारी गरेको छ । घटना व्यक्ति अनवा समुह कसले गराएको हो भन्ने एकीन हुन नसकेको प्रहरीले जनाएको छ ।

तस्बिर श्रोत : शिक्षक टेकेन्द्र धामी

प्रतिक्रिया छाेड्नुहाेस्