बैतडीमा पहिरोले एक घर भत्कियो, ९ घर जोखिममा

बैतडी– बैतडीमा पहिरोले एक घर भत्काएको छ । जिल्लाको सुर्नया–६ धुलिधारका जनकराज अवस्थीको घर पहिरोले भत्काएको हो ।

पहिरोका कारण विभिन्न स्थानका ८ घर उच्च जोखिममा परेको प्रहरीले जनाएको छ। घर भत्किँदा उनको गोठमा बाँधेका एक हल गोरुलाई समान्य चोट लागेको छ। धुलिधारकै अम्बादत्त पन्त, चन्द्रदेव पन्त र पदमराज अवस्थीको घर पहिरोको जोखिममा छन् ।

पहिरोले अम्बादत्त पन्त र चन्द्रदेव पन्तको तरकारी बारीमा लगाएको बन्दा समेत नष्ट भएको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालयका अनुसार दशरथचन्द नगरपालिका–११ नागार्जुन पड्याबाज भन्ने स्थानमा पाँच घर पहिरोको जोखिममा परेका छन् ।

शुक्रबार दिउँसो घरको आँगन पहिरोले लगेपछि स्थानीय खिमानन्द पन्त, गुमानी पन्त, केशवदत्त पन्त, रगीदत्त पन्त र गोपालदत्त पन्तको घर पहिरोको उच्च जोखिममा परेको प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो ।

अहिले पाँचै जनाको परिवार आफन्तको घरमा बसिरहेका छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्