बैतडी– सुदूरपश्चिममा एकैदिन विभिन्न घटनामा ६ जनाले ज्यान गुमाएका छन् । कैलालीका ३ जनासहित ५ जनाले ज्यान गुमाएका छन् ।
कैलालीमा बेपत्ता दुई जना मृत फेला परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–६ को बेलुबोझीका ८ वर्षीय बालक आरभ चौधरी मृत अवस्थामा फेला परेका छन् ।
शनिबार साँझदेखि हराइरहेका आरभ आइतबार बिहान घर नजिकैको सडक छेउमा रहेको नालामा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबीन्द्रसिंह बोहराले बताउनुभयो ।
यस्तै, भजनी नगरपालिका–८ को गुडचौरामा लडेको अवस्थामा सोही स्थानका ५५ वर्षीय जयराम डगौरा पनि मृत फेला परेका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै कैलालीको घोडाघोडी नगरपालिका–११ सिसैयाकी ५६ वर्षीया किष्नी चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा मोटर चलाई कपडा धुने क्रममा चौधरी करेन्ट लागीर गम्भिर घाईते भएकी थिइन् ।
घाईते चौधरीलाइ उपचारकालागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, कञ्चनपुरमा नदीमा नुहाउने क्रममा बालिकाको मृत्यु भएको छ ।
जिल्लाको बेदकोट नगरपालिका–३ चौरीकी १३ वर्षीया लक्ष्मी भुलको चौधर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, डडेल्धुरामा पनि एक जना मृत अबस्थामा फेला परेका छन् । जिल्लाको पर्शुराम नगरपालिका–५ परिगाउ महाकाली नदी किनारको छेउ पुर्तौली भन्ने भिर नजिक परिचय नखुलेका करिब २४ वर्षीय पुरुष मृत अबस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।










