बैतडी– पहिरोका कारण अवरुद्ध आइतबार अपरान्हबाट अबरुद्ध दशरथचन्द राजमार्ग सुचारु भएको छ । बैतडीको पाटन नगरपालिका–४ जेउडेमा आइतबार अपरान्ह सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको राजमार्ग सोमबार बिहान १० बजेदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय पाटन बैतडीका प्रमुख लक्ष्मणदत्त जोशीले बताउनुभयो।
बैतडी–दार्चुला जोड्ने राजमार्गमा पहिरो खस्दा आइतबारदेखि सवारी आवागमन रोकिएको थियो । सोमबार बिहान सडक सुचारु भएसंगै यातायात साधनहरु सञ्चालनमा आएका प्रमुख जोशीले बताउनुभयो।
जेउडेमा मोड सुधारको काम चलिरहेको र डोजरले खन्ने क्रममा माथिबाट सुख्खा पहिरो खसेको थियो । राति पहिरो पन्छ्याउन जोखिम भएपछि सोमबार बिहानैदेखि तीनओटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छ्याइएको कार्यालय प्रमुख जोशीले बताउनुभयो।
पहिरो पन्छ्याएसंगै लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आएका छन् ।










