बैतडी- विद्यालयमा अध्ययनरथ विद्यार्थीहरुको छलीया नृत्यका साथ बैतडीको दशरथचन्द नगरपालिका–५ स्थित दशरथचन्द मावि सुन्दरखालीको ६८ औं बार्षिकोत्सव भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ ।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले यहाँको पुरानो मौलिक नृत्य छलीया नृत्यका साथै अन्य विभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए । यहाँको पुरानो लोक संस्कृत छलीया नृत्य भएपनि युवा पुस्तामा यो हराउदै गएपछि विद्यालयले विद्यार्थीहरुलाई छलीया नृत्य गर्न प्रत्साहन गरिरहेको छ ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती चन्दको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल प्रमुख अतिथी रहेका थिए ।

बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर चन्दले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै १ करोड ५५ लाख ३ हजार ७०१ रुपैयाँ बराबरको आयव्यय विवरण सार्वजनिक गरेका छन्।
२०१३ साल पौष १५ गते स्थापना भएको विद्यालयले विभिन्न आरोह अवरोह पार गर्दै शिक्षाको ज्योती फैलाइरहेको प्रधानाध्यापक चन्दले बताउनुभयो।
छात्रवृति कोषबाट छात्रवृति प्रदान
दशरथचन्द मावि सुन्दरखालीले बार्षिकोत्सवको अवसरमा विभिन्न छात्रवृति कोषबाट विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको छ ।
पदमराज भट्ट स्मृति शैक्षिक छात्रवृति विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने ८ जनालाई वितरण गरिएको छ । जेहेन्दार, अनुशासित, लगनशील विद्यार्थी छनौट गरेर जनही १ हजार ५ सयका दरले छात्रवृृति वितरण गरिएको प्रधानाध्यापक चन्दले बताउनुभयो।
यस्तै मेनेजर तेजबहादुर चन्द स्मृति छात्रवृति कक्षा ११ र १२ मा अध्ययनरत ८ जनालाई २ हजारका दरले प्रदान गरिएको छ ।
यस्तै प्रेमसिंह रावल र कलावतीदेवी रावल स्मृति छात्रवृति एकजनालाई वितरण गरिएको । उक्त छात्रवृतिको राशी ५ हजार रहेको छ ।
कक्षा ९ मा छनौट गरिएको एकजनालाई कक्षा १२ सम्म उक्त छात्रवृति प्रदान गर्ने गरिएको प्रधानाध्यापक चन्दले बताए । उक्त छात्रवृति कक्षा ११ छात्रा रिता चन्दलाई प्रदान गरिएको छ ।
यस्तै दशरथचन्द नगरपालिका वडा नं –५ को कार्यालयले गतबर्षदेखि प्रदान गर्दैै आएको छात्रवृति १२ जनालाई प्रदान गरिएको छ । कक्षा १ देखि १२ सम्मका उत्कृष्ट विद्यार्थीहरुलाई १ हजारका दरले छात्रवृति प्रदान गरिएको छ । विद्यार्थीहरुको हौसला बढाउन वडाले शैक्षिक छात्रवृति दिने गरेको वडा अध्यक्ष केशवराज लेखकले बताउनुभयो ।
यस्तै स्वर्गीय तारासिंह रावल स्मृति शैक्षिक छात्रवृति ५ जनालाई २ हजारका दरले वितरण गरिएको छ । उक्त छात्रवृति कक्षा ११ र १२ मा अध्ययनरत जेहेन्दार एक÷एक जना विद्यार्थीलाई प्रदान गरिएको छ । यस्तै एकजना दलित छात्रासहित ३ जना दलित विद्यार्थीहरुलाई उक्त छात्रवृति प्रदान गरिएको प्रधानाध्यापक चन्दले बताउनुभयो ।
यस्तै स्वर्गीय नारायणदत्त भट्ट र जयमतीदेवी भट्ट स्मृति छात्रवृति कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ५ जनालाई १ हजार ५५ रुपैयाँका दरले प्रदान गरिएको छ ।
यस्तै विद्यालयले कक्षा १२ र एसईईमा ३ जीपीएभन्दा माथि ग्रेड पोइन्ट ल्याउने ७ जना विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको छ । कक्षा १२ उत्तीर्ण गरेका तीन जना र नगरपालिकाभरी एसईईमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी पंकज भट्टलाई १ हजार दरले पुरस्कार प्रदान गरिएको छ । यस्तै एसईईमा ३ जीपीए भन्दा माथि अंक ल्याउने अन्य तीनजनालाई ५ सयका दरले पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ ।
चार जना शिक्षक सम्मानित
दशरथचन्द मावि सुन्दरखालीले आफ्नो बार्षिकोत्सवको अवसरमा चार जना शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरेको छ । शिक्षण क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई प्रशंसापत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको प्रधानाध्यापक चन्दले बताउनुभयो ।
सम्मानित हुने शिक्षक टेकबहादुर चन्द, अञ्जु चन्द, ईश्वरी बडू र विद्यालयका लेखापाल रामसिंह रावल रहेका छन् ।
विद्यालयको बार्षिकोत्सवको अवसरमा अभिभावकहरुलाई समेत सम्मान गरिएको छ । विद्यालयको सर्वाङ्गीण विकासका लागि सहयोग गर्ने अभिभावकहरुलाई सम्मान गरिएको विद्यालयले जनाएको छ । आधारभूत तह बालविकास देखि कक्षा ५ सम्म अध्ययनरत बालबालिकामध्ये सरसफाइ र उपस्थितीमा उत्कृष्ट रहेका बालबालिकाहरुका अभिभावकहरुलाई विद्यालयले सम्मान गरेको हो । यस्तै एसइई र कक्षा १२ मा ३ जीपीए भन्दा माथि अंक ल्याएका विद्यार्थीका अभिभावकहरुलाई विद्यालयकातर्फबाट सम्मान गरिएको प्रधानाध्यापक चन्दले बताउनुभयो।











