भारतमा भएको रेल दुर्घटनामा सुदूरपश्चिमका पाँच जनाको मृत्यु भएको छ । अछामका चार र कैलालीका एक गरी पाँच जनाको मृत्यु भएको हो ।
अछामका पञ्चदेवल विनायक नगपालिका–४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा र छोरा हिमु तथा कलबजार नगरपालिका–४ चाल्साकी ६० वर्षीया जयकला कामी र कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारीको मृत्यु भएको छ ।
बुधबार भएको रेल दुर्घटनामा परी कमलाको मृत्यु भएको उनका भतिजा दीपेन्द्र भण्डारीले पुष्टि गरे। दीपेन्द्रका अनुसार कमलासंगै उनकी बुहारी राधा पनि थिइन्। उनीहरु सोमबार लखनउबाट मुम्बैका लागि रेलमा गएका थिए ।
मोहन्याल गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष कृष्णबहादुर शाहीका अनुसार रेल्बे कम्पनीले कमलाको शव नेपाल पठाइदिने खबर प्राप्त भएको छ।
बुधबार महाराष्ट्रको जलगाउँ जिल्लाको पाचोरा येथे पारधाडे रेल्वेस्थान नजिक भएको दुर्घटनामा मृत्यु भएका १३ जनाको मृत्यु भएको थियो। रेलभित्र आगो लागेको हल्ला फैलिएपछि हामफाल्ने क्रममा अर्को रेलमा ठोक्किएर उनीहरुको ज्यान गएको थियो।











