दनपा १० ले उचाल्यो नगरस्तरीय क्रिकेटको उपाधी

राधा बोहरा, बैतडी– बैतडीको सुन्दरखाली क्रिकेट मैदानमा जारी दशरथचन्द नगरपालिका स्तरीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधी दशरथचन्द नगरपालिका वडा नं. १० ले उचालेको छ । जारी प्रतियोगिताको फाइनलमा दशरथचन्द नगरपालिका– २ देहिमाण्डौँलाई ३५ रनले पराजित गर्दै वडा नं. १० ले उपाधी कब्जा गरेको हो । उपाधी कब्जा संगै विजेता टोलिले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

यस्तै उपविजेता टोली वडा नं. २ ले नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको हो ।

आज भएको फाइनलमा पहिला ब्याटिङ गरेको वडा नं. १० ले १९ दशमलब ३ ओभरमा सबै विकेट गुमाउदै १ सय १७ रन बनाएको थियो । जसमा पंकज चन्दले नटआउट ३० रनको महत्वपुर्ण पारि खेले । दिनेश चन्दले २६, लोकेन्द्र चन्दले १४ तथा सुमीत बुढालले १४ रनको योगदान बाहेक वडा नं. १० का अरु ब्याड्सम्यानहरुले दोहोरो अंक जोड्न सकेनन् ।

१ सय १८ रनको लक्ष चुम्न जवाफी ब्याटिङमा उत्रिएको दशरथचन्द नगरपालिका– २ को टीमले १६ दशमलब ४ ओभरमा सबै विकेट गुमाउदै जम्मा ८२ रन जोड्न सक्यो । उसका लागि भुपेस बोहराले सर्वाधिक ३२ रनको योगदान दिए । यस्तै कृष्ण बोहराले १३ तथा हरिष टोक्रेले १० रनको योगदान बोहेक अरुले दोहोरो अंक जोड्न सकेनन् । दनपा– २ लाई सस्तैमा समेट्न दनपा– १० का उमेश बुढालले ३ दशमलब ४ ओभरमा १७ रन खर्चिदै सर्वाधिक ५ विकेट लिए ।

नगरस्तरीय क्रिकेटको समापन सत्रमा बोल्दै नगरप्रमुख पुष्करराज जोशी (लख्खाभाई) ले दशरथचन्द नगरपालिका खेलकुदको विकासमा प्रतिवद्ध रहेको बताउनुभयो । दशरथचन्द नगरपालिकाका खेलाडीहरुले क्रिकेट लगायत विभिन्न खेलमार्फट देशलाई योगदान दिने उहाँको दाबी थियो । पछिल्लो समय क्रिकेटमा भइरहेको विकासले यहाँका खेलाडीहरुलाई समेत ठुलो सम्भावनाहरुको सृजना गरेको उहाँको भनाई थियो ।

प्रतिक्रिया छाेड्नुहाेस्