अछाममा प्रेमीले यौन प्रस्ताव राख्दा अस्विकार गरेपछि फुपु– भदैको हत्या

अछाम– अछाममा मृत फेला परेकी २ किशोरीको हत्या भएको प्रहरी निष्कर्षमा पुगेको छ ।

जिल्लाको ढकारी गाउँपालिका–१ छिन्ने जङ्गलमा मृत फेला परेकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको हो ।

गोठालो गएको बेला बेपत्ता भएकी उनीहरूको शव गत शनिवार जङ्गलमा फेला परेको थियो। ढकारी गाउँपालिका–८ पल्साताकी दुवै किशोरीको ढुङ्गा प्रहारबाट हत्या भएको प्रहरीले निष्कर्ष रहेको छ।

जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्तत टोली उनीहरूको ढुङ्गा प्रहारबाट मृत्यु भएको निष्कर्षमा पुगेको हो। किशोरीहरूको हत्या अभियोगमा ढकारी गाउँपालिका–३ तालीका दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूलाई शनिवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामले हत्या घटनामा पक्राउ परेका दुवै जनालाई सार्वजनिक गरेको हो। उनीहरूको उमेर नपुगेकाले नाम सार्वजनिक नगर्ने जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ। उनीहरूको बिचमा प्रेम सम्बन्ध रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

टेलिफोनबाट प्रेम, पहिलो भेटमै हत्या

दुुई किशोरीको हत्याको प्रमुुख कारण प्रेम सम्बन्ध भएको प्रहरीले जनाएको छ । मृतक इशरा खड्का र पक्राउ परेका मध्येका बुढा थरका नाबालक किशोरबीच लामो समयदेखि टेलिफोनमा कुुराकानी हुुने गरेको थियो ।

उनीहरु दुवै जनालाई टेलिफोनमा हुने संवादले प्रेम सम्बन्धमा पुुगाइसकेको थियो तर भेट्ने मौका पाइएको थिएन । ढकारी गाउँपालिका–३ ताली र किशोरीहरुको गाउँ ढकारी गाउँपालिका–८ पल्साता भौगोलिक रुपमा ढाका पर्ने भएका कारण पनि उनीहरुको भेट हुन सकेको थिएन ।

अछाममा माघ महिनामा विवाहित छोरीबेटीलाई उनकै घरमा पुगेर माइती पक्षले कोशेली दिने प्रचलन छ । बिहीबार तालीबाट पक्राउ परेका दुवै किशोर कोशेली लिएर फूपुुको घरमा पुुगेका थिए । फूपुको घर आएको मौकामा किशोरीसँग भेट गर्ने योजना बनाउँछन् । उनीहरुबीच टेलिफोन संवाद हुन्छ ।

गोठालो गएका बेला छिन्ने जंगलमा भेट्ने तय हुन्छ । दुवै किशोर घुुमफिर गरेर आउने भन्दै शुुक्रबार बिहानै फूपुको घरबाट निस्किन्छन् । फूपुको छोरा अन्दाजी १० वर्षीय किशोरलाई पनि सँगै लिएर उनीहरु किशोरीलाई भेट्ने योजनासहित छिन्ने जंगलतर्फ लाग्छन् ।

दिउँसो करीब साढे १२ बजेको समयमा उनीहरु छिन्ने जंगलमा पुुग्छन् । त्यतिबेलासम्म इशरा र सरस्वती पनि बाख्रा लिएर घरबाट त्यहाँ आइसकेका थिए । इशरा र सरस्वतीसँग उनीहरु तीनै जना एकसाथ भेट्छन् ।

प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा हत्या

इशरासँग टेलिफोनमा संवाद गर्दै आएका राजेश बुढा(नाम परिवर्तन) ले चुन्नी(दोपट्टा) साट्छन् । त्यही क्रममा दिपेशले इशरासँग आफ्नो पनि टेलिफोनमा कहिलेकहीँ कुुराकानी हुुने गरेको भन्दै आफ्नो प्रेमिका भएको बताउँदै समान्य विवाद गर्छन् ।

त्यसपछि इशरा र राजेश छेउ लागेर आपसमा प्रेमका कुुरा गर्छन् । त्यही बेला फूपु सरस्वतीसँग दिपेशको कुराकानी चल्छ । कुुराकानीका क्रममा दिपेशले प्रेम प्रस्ताव राख्दै इशारा र राजेश जस्तै पछि विवाह गर्ने शर्तमा चुन्नी(दोपट्टा) साटासाट गर्न आग्रह गर्छन् ।

तर सरस्वतीले उनको प्रस्ताव अस्वीकार गर्छिन् । प्रहरीलाई स्वयं दिपेशले दिएको बयानअनुुसार सरस्वतीसँग यौन सम्पर्क गर्ने उत्सुुकता उनमा पलाएको थियो ।

प्रेम प्रस्ताव अस्वीर गरेपछि उनी यौन सम्पर्कका लागि जोडबल गर्न थाल्छन् । दिपेशले जबरजस्ती गर्न खोजेपछि उनी प्रतिबाद्ध गर्छिन् ।

आवेशमा आइसकेका दिपेशले नजिकै भएको ढुंगाले उनको मुुखमा प्रहार गर्छन् । सरस्वती भुँइमा लडेपछि पुुनः प्रहार गर्दै उनको निर्मम हत्या गर्छन् । त्यतिबेलासम्म इशरा र राजेशले यो कुुरा थाहा पाउदैनन् ।

सरस्वतीले गरेको प्रतिवादले आक्रोशित भएर हत्या गरेका दिपेशले हत्या गरेको लुकाउने उद्देश्यले भवितव्य भएको देखाउन माथिबाट उनको शव भएको स्थानतिर ठूूलो ढुुंगा खसाल्छन् ।

इशराको पनि वीभत्स हत्या

प्रहरीकाअनुसार ढुुंगा खसेको आवाज आएपछि इशरा र राजेश घटनास्थलमा आइपुग्छन् । त्यहाँ सरस्वतीको शव क्षतविक्षत अवस्थामा देख्छन् ।

दिपेशले भीर माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको दाबी गर्छन् । तर इशराले भने फूपु सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गरिदिने भनेर आक्रोश व्यक्त गर्छिन् ।

घटना बाहिर आउने डरले दिपेश र राजेशले इशराको पनि हत्या गर्ने आकस्मिक योजना बनाउँछन् । इशरासँग निकै आक्रोशित भइसकेका उनका प्रेमी राजेश बुढाले नै ढुंगा प्रहार गर्छन् ।

ढुंगा प्रहार गरेरै सरस्वतीको जस्तै इशाराको पनि हत्या गर्छन् । इशराको हत्या भने दुवै किशोरको योजनाअनुुसार भएको देखिएको प्रहरीले जनाएको छ ।

घटना भवितव्य देखाउन ढुंगा खसालियो

प्रहरीकाअनुसार दुवै किशोरीको हत्यापछि आत्तिएका किशोरले घटनालाई भवितव्य देखाउने उद्देश्यले भीरमाथिबाट शव भएको स्थानतर्फ ढुंगा खसालेको पाइएको छ ।

हत्यापछि १५ मिटरको दुुरीमा तलमाथि सरस्वती र इशराको शव राखेका उनीहरुले सोही स्थानतिर माथिबाट ठूलासाना गरेर दर्जनौँ ढुंगा खसालेका छन् । एकैपटक सोही ठाउँमा धेरै ढुंगा कसरी खसे ? भन्ने कोणबाट प्रहरीले प्रारम्भिक अनुुसन्धान अघि बढाएको थियो ।

तीन जनाले भीर माथिबाट ढुंगा खसालिरहेको प्रत्यक्षदर्शीको बयानका आधारमा प्रहरीको अनुसन्धानले गति लियो । त्यो दिन घटनास्थल वरपर देखिएका मानिसहरुमाथि केरकार गर्ने क्रममा प्रहरीले दुुवै जना किशोरलाई पनि नियन्त्रणमा लिएको थियो ।

गाउँबाट भाग्ने योजना बनाइरहेको अवस्थामा प्रहरीले आइतबार राति उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये १० वर्षीय नाबालक अनुसन्धानमा सघाएका कारण उनलाई सरकारी साक्षी राखिएको छ । अन्य दुुई जनाविरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुुद्दा दर्ता गरेर थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्