बैतडी- दलित त्यसमा पनि दमाई भएकै कारण गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा आमाको शव कुरेर बसेका प्रकाश टेलर दमाईले आमाको दुई दिनपछि अन्तेष्ठी गरेका छन् । उनले फागुन ४ गते पाटन नगरपालिकाको तिपडा मसानघाट पुर्याएर दाहसंस्कार गरेका हुन् ।
६१ वर्षीय माना टेलरको शवलाई ट्याक्टरमा राखेर ५० किलोमिटर टाढा पाटन नगरपालिका–६, तिपडीगाड पुर्याइएको हो । सिगास गाउँपालिका–१, अङडेगाडा गाउँका प्रकाशकी आमा माना टेलरको शनिबार बिहान ११ बजे मृत्यु भएको थियो । गाउँमा एक मात्रै दमाई परिवार भएकाले मलामी जाने मानिस नहुँदा ट्याक्टर बोलाइएको प्रकाशले बताउनुभयो ।

आमाको मृत्युभए पछि दाहसंस्कारका लागि बहिनी ज्वाइँ र कञ्चनपुरको महेन्द्रनगरबाट आफन्त नातेदार मोहन टेलर, श्याम टेलर, कपिल टेलर लगातका आफन्तलाई बोलाएको प्रकाशले बताउनुभयो । आइतबार २५ हजार रुपियाँमा ट्याक्टर बुक गरेर आफन्त र छिमेकी ज्ञानेन्द्र ऐरी लगायतको सहयोगमा शवलाई मशानघाट पुर्याइएको उहाँले बताउनुभयो ।
समाजमा अहिले पनि गैर दलितले दलितको शव बोकेर मलामी जाने चलन नभए पनि प्रकाश टेलर एक्लो परिवार भएकाले राति शव कुर्न भने केही गाउँले जम्मा भएको स्थानीय ज्ञानेन्द्र ऐरीले बताउनुभयो । उहाँले भन्नुभयो, “शवलाई ट्याक्टरमा राखेपछि म पनि उहाँहरू सँगसँगै मोटरसाइकलमा मलामी आएको छु । मसँगै मेरा फूपाजु नरबहादुर साउद पनि साथमा आउनुभएको छ । गाउँ समाजमा दलितको शव काँधमा बोकेर मलामी जाने चलन छैन । यद्यपि राति शव कुर्न भने गैरदलित पनि आएका थिए । अरू मलामी नआए पनि यस्तो कुरीति हट्नु पर्छ भनेर मचाहिँ मलामी आएको हुँ ।”

प्रकाश टेलर स्थानीय भूमिराज आधारभूत विद्यालयमा मासिक आठ हजार तलब पाउने गरी निजी श्रोतमा शिक्षण गर्दै आउनुभएको छ । ३० वर्षीय प्रकाश स्थानीय सामुदायिक वन उपभोक्ता समितिको सचिवसमेत हुनुहुन्छ ।
प्रकाशको गाउँसँगै जोडिएका वरिपरिका टोलमा दलित, गैरदलित गरी करिब तीन सय मानिसको बसोवास छ । गाउँमा गैरदलित मात्रै होइन, दमाई जाति बाहेकका अन्य दलित समेत मलामी जान तयार नभएपछि प्रकाशले एक्लो अनुभूति भएको पीडा सुनाउनुभयो । गाउँ समाजमा अहिले पनि दलित भित्रै विश्वकर्मा जाति र दमाई जातिबिच भात भान्सा र शवलाई काँध थापेर मलामी जाने चलन नभएको उहाँले बताउनुभयो ।
प्रकाशको परिवार करिब ४० वर्ष अघि पाटन नगरपालिका–४, बगाडी गाउँबाट सिगास गाउँपालिका–१ (साविकको गाँजरी गाविस–७) अङडेगाडा बसाइँसराइ गरी आएको थियो। सो गाउँमा बसोवास गर्ने अन्यको दाहसंस्कार गर्ने स्थान सोही ठाउँको डुब्केखोला भए पनि त्यहाँ शव बोकेर पैदल हिँड्नु पर्छ ।
दिनभरि आँगनमा एक्लै शव कुरिरहेको खबर पाएपछि स्थानीय युवा ज्ञानेन्द्र ऐरी लगायतका केही युवाले रातभरि शव कुर्न सहयोग गरेपछि जनप्रतिनिधिको समेत ध्यानाकर्षण भएको थियो । गाउँका शिक्षित युवाजति सबै रोजगारीका लागि विदेश पलायन भएपछि गाउँमा मलामी जाने मानिस नभेटिन मुस्किल भएको सिगास गाउँपालिका–१,का वडाध्यक्ष रामचन्द्र ऐरीले बताउनुभयो । उहाँले गाउँमा एक्लो परिवारलाई प्रकाशको जस्तै समस्या हुने गरेको बताउनुभयो । मलामी जाने मानिस नहुँदा शव वाहन वा ट्याक्टरका लागि शनिबार कुरा गरे पनि आइतबार मात्रै एउटा ट्याक्टर तयार भएपछि दाहसंस्कारको काम सम्पन्न भएको उहाँले बताउनुभयो ।














