बैतडी- फागुन १५ गतेदेखि हुन लागेको म्यानेजर तेजबहादुर चन्द अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताका लागि तयरी तिब्र पारिएको छ । प्रतियोगिता संचालन हुने जगन्नाथ बहुउद्देश्यीय खेललमैदानलाई तयार पर्ने काम तिब्र रुपमा भइरहेको हो । बैतडीको गोठलापानी स्थित जगन्नथ बहुमुखी क्याम्पस गोठलापानीको नजिक निर्माणधीन खेलमैदानलाई प्रतियोगिताका लागि तयार गर्न लागिएको म्यानेजर तेजबहादुर चन्द ट्रष्टका उपाध्यक्ष पदम बहादुर चन्दले बताउनुभयो ।

दरशथचन्द नगरपालिकाले प्रतियोगीता संचालनका लागि निर्माणधीन मैदानलाई खेल्न योग्य बनाउन लागेको चन्दले बताउनुभयो । ।

फागुन १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १० ओटै स्थानीय तहको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार ,उपविजेताले ७५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनोदबहादुर चन्दले बताउनुभयो । यस्तै तृतीय पुरस्कार ३५ हजार, सान्त्वना पुरस्कार १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ ।

गतवर्ष सम्पन्न प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिकालाई पराजित गर्दै मेलौली नगरपालिकाले जितेको थियो ।
प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ । जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको ट्रष्टले खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।












