बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाले गर्भवती र सुत्केरी आमालाई लक्षित गर्दै निस्शुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ। गर्भवती र सुत्केरीलाई निस्शुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले सोमबार जोशीबुङ्गा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताउनुभयो ।
सोमबार एक कार्यक्रमकाबीच नगर प्रमुख पुष्करराज जोशीले वडा नं ९ का अध्यक्ष मोहनदेव जोशी र वडा नं ११ का अध्यक्ष जयदत्त पन्तलाई संयुक्त रुपमा एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

नगरपालिकाले वडा नं ९ र ११ का नागरिकलाई लक्षित गरेर जोशीबुङ्गा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो। यसअघि देहीमाण्डौं स्वास्थ्यचौकीले सञ्चालन गर्दै आएको उक्त एम्बुलेन्स मर्मत गरेर जोशीबुङ्गा स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको जनाएको छ ।
देहीमाण्डौंमा नयाँ एम्बुलेन्स आएपछि जोशीबुङ्गा स्वास्थ्यचौकीलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको हो । जोशीबुङ्गा स्वास्थ्यचौकीमा एम्बुलेन्स भित्रिएसंगै वडा नं ९ र ११ आकस्मिक बिरामी तथा गर्भवती र सुत्केरी आमाहरुलाई सुविधासम्पन्न अस्पतालमा पुर्याउन सहज हुने नगरप्रमुख पुस्करराज जोशीले बताउनुभयो । नरपालिकाले विपन्न नागरिकहरुलाई लागि इमेरजेन्सि अस्पताल ल्याउनु परेमा समेत निशुल्क एम्बुलेन्स सेवा दिदै आएको छ ।
दशरथचन्द नगरपालिकाले गएको तीन बर्षदेखि गर्भवती तथा सुत्केरी आमाहरुलाई अन्यत्र अस्पताल लैजानुपरेमा निस्शुल्क एम्बुलेन्स उपलब्ध गराउँदै आएको र त्यसको निरन्तरताका लागि जोशीबुङ्गामा पनि एम्बुलेन्स सेवा उपलब्ध गराइएको हो ।










