बैतडी- निजि क्षेत्रको लागतमा जिल्ला स्थित सर्वाधिक राशीको अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको आज भव्य उद्घाटन गरिएको छ । म्यानेजर तेजबहादुर चन्द स्मृती प्रतिष्ठानको आयोजनामा जगन्नाथ बहुउद्देश्यीय खेलमैदान गोठलापानीमा प्रतियोगिताको भव्य उद्घाटन गरिएको हो । १८ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले १ लाख २५ हजार नगद पुरुस्कार पाउने आयोजक तेजबहादुर चन्द स्मृमती प्रतिष्ठानका उपाध्यक्ष पदम बहादुर चन्दले बताउनुभयो ।

म्यानेजर तेजबहादुर चन्दका छोरा तथा प्रतिष्ठानका अध्यक्ष इन्जिनियर ग्रीस चन्दको अध्यक्षता तथा दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशीको प्रमुख आथित्यतामा उद्घाटन गरिएको प्रतियोगितामा जिल्लाको डिलाशैनी गाउँपालिका बाहेक सबै स्थानीय तहहरुले टोली सहभागि गराएका छन् ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै दशरथचन्द नगरपालिकाका मेयर जोशीले नगरपालिकाले खेलकुद क्षेत्र प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सदरमुकाममा सानो खेलमैदान पनि नहुँदा समस्या भएको थियो त्यसैले हामीले जगन्नाथ बहुमुखी क्याम्पस संगको सहकार्यमा खेलमैदान निर्माण गरिरहेका छौँ फलस्वरुप अहिले जिल्लाको सरमुकाम स्थित बजार गोठलापानीमा २०६४ पछि पहिलो पटक प्रतियोगित भएको छ ।’

कार्यक्रमका अध्यक्ष ईन्जिनियर ग्रीस चन्दले म्यानेजर तेजबहादुर चन्द कुनै व्यक्तिको नभई सबैको प्रतिष्ठान भएको र यसमा सबैले अपनत्व लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘प्रतिष्ठानले खेलकुदका साथै विभिन्न सामाजिक कार्य पनि गर्दै आएको र आगामी दिनमा पनि समाजमा प्रतिष्ठानको योगदान रहने छ ।’

निजि क्षेत्रको लगानीमा जिल्लामा यति ठुलो प्रतियोगिता हुनु आफैमा जिल्ला र खेलाडीका लागि उत्साहको कुरा भएको दशरथचन्द नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताउनुभयो । उहाँले भन्नुभयो ‘यो प्रतियोगिताले हामी खेलाडीमा उत्साह थपेको छ ।’

गोठलापानीको कलुवाडमोडमा रहेको शहीद रिच्पले पार्कबाट छलिया नृत्य र ¥याली सहित बजार परिक्रमा गरिएको थियो ।


यस्तो रह्यो आजको खेल
उद्घाटन समारोहपश्चात भएको पहिलो खेलमा सुर्नया गाउँपालिका विजयी भएको रेफ्री संयोजक हरिसिंह भण्डारीले जानकारी दिनुभयो ।
सुखद सुरूआत गर्ने क्रममा सुर्नयाले दोगडाकेदार गाउँपालिकालाई ३-० को सोझो सेटमा हरायो।
सुर्नयाले पहिलो सेट २५–१८, दोस्रो २५–२२ र तेस्रो २५–२३ को अंकमा जित निकाल्यो।
प्रतियोगिताको दोश्रो खेल दशरथचन्द नगरपालिका र पञ्चेश्वर गाउँपालिका बिच भएको थियो । जारी खेलमा पञ्चेश्वरले २ सेटमा जित हात पार्दा दशरथचन्दले १ सेटमा जित हात पारेको अवस्थामा खेल वर्षाका कारण रोकिएको छ । अब उक्त खेल भोलि पुनः सुरुदेखि हुने छ ।

प्रतियोगिताको उपविजेताले ७५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिनुभयो।
यस्तै तृतीय पुरस्कार ३५ हजार,सान्त्वना पुरस्कार १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ । यसअघि सम्पन्न प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो ।

प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ । दशरथचन्द नगरपालिका ५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक हुनुहुन्थ्यो ।

उहाँकै स्मृतिमा वि स २०७४ सालमा स्थापना भएको ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।









