२३ फागुन, ०८१ । बैतडी- दिनभरीको कामले थाकेका सुरेन्द्र साँझा छिमेकीको पसलमा खाना खाइरहेका थिए । दुई गाँस मात्रै के मुखमा हालेका थिए, उनको पेटमा भरुवा बन्दुकको गोली बज्रियो। गोलीको घाउबाट बगेको रगत रोक्न अय्या-अय्या गर्दै भातकै हातले पेटमा अडेस लाएका सुरेन्द्र होटलको भड्डीमा ढले । देख्नेहरुलाई यो दृष्य सपना जस्तै लागिरहेको थियो । अकस्मात आएको करेन्ट जस्तो, त्यहाँ भएका सबैको एक छिनका लागि होसै गुम्यो । सुरेन्द्रले थालको भात पुरा खान पाएनन्, चिच्याउन थाले, छटपटिन थाले । दुबै हातले पेट समाउदै सुरेन्द्रले चिच्याइरहेकाे दृष्य कति कारूणिक हाेला त्याे बयान गर्न शब्द अपुग हुन्छन् ।

तस्बिर : गाेलीकाण्ड भएकाे रगताम्य घटनास्थल । दाेगडाकेदार गाउँपालिका–८ कालागाउँ चाैसीलाकाे स्थानीय पसल र मृतक सुरेन्द्र विष्ट
सुरेन्द्रको चिच्याहटमा रमिते बनिरहेका थिए, उनकै छिमेकी दाजु, जसले सुरेन्द्रको पेटमा गोली बर्साए, कर्णबहादुर विष्ट जो गाउँमा स्याल उपनामले परिचित थिए । बन्दुक समातेर जंगली जनावरको सिकार गर्ने कर्ण गाउँमा आफुलाई चलाख देखाउने बानीका कारण स्याल उपनामले परिचित रहेछन । जसले सुरन्द्रको निर्मम हत्या गरे, खाइरहेकाे बेलामा निर्मम प्रहार गरे, जाे दानबले पनि गर्दैनन् । उनि हत्या पछि भरुवा बन्दुक सहित जंगल फरार भए । बैतडीकाे दाेगडाकेदार गाउँपालिका-८ कालागाउँ चाैसीलाकाे घटना हाे याे ।

तस्बिर : आरोपित कर्णबहादुर विष्ट उर्फ स्याललाई खाेज्द जंगल चाहार्दै प्रहरी
गाउँका सर्वसाधारणमात्रै होइन जान्नेसुन्ने भनिएका व्यक्तिहरुले भन्दै थिए ‘करन स्याललाई कुनै हालतमा प्रहरीले पक्राउ गर्न सक्दैन किनकी यस अघि पनि वनको मुद्दामा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरीकै घेरा तोडेर भागेको हो ।’ सबैको मुखबाट यही कथन सुनिन थालेपछि गाउँबासीमा प्रहरीले हत्या आरोपित कर्ण पक्राउ गर्न सक्नेमा थियो, उम्कने डर थियो अथवा भनौँ कसै अरुलाई पनि बन्दुकको गोली तेस्र्याउछ कि भन्ने त्रास । हुन पनि हो हाकाहाकी कसैमाथी गोली बर्साएर भागेको अपराधिक मानसिकताले जकडीएको व्यक्ति के पो गर्ने हो ?

बैतडी प्रहरीलाई भने यी तमाम भनाई र गाउँमा चलेका हल्लासंगको कुनै मतलब थिएन, मतबल थियो त केबल अपराधी समात्ने । त्यसैले अपराधी सामात्ने दृढ संकल्पका साथ घटनापछि जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्सपेक्टर बल्देब बडुको कमाण्डमा प्रहरीको जत्था स्थानीय जंगल चाहार्नमा लाग्यो । इलाका प्रहरी कार्यालय, पाटनका इन्सपेक्टर राजेन्द्र साउद समेत मोर्चामा थिए । प्रहरीले उच्च मनोवलका साथ दुई दिन जंगल चाहा¥यो, खाेला चाहा¥यो, खोलाका घट्टहरु, ओढारहरुमा छाम मा¥यो, यतिसम्मकी पहिले आरोपित व्यक्ति सिकारी भएकाले सम्भावित जंगलका ठुला रुख भ्याएसम्म नियाल्यो । केही पत्तो नचलेपछि प्रहरीले अनुसन्धानको रणनीति बदल्यो । सादा पोसाकका प्रहरीलाई कर्णको इष्टमित्र, आफन्त तथा नातागोता भएका गाउँमा समेत परिचालन ग¥यो । बैतडी प्रहरीलाई अनुसन्धानमा साथ दिइरहेको थियो, प्रहरीको प्रदेश कार्यालय महेन्द्रनगर जसले कर्णको फोन ट्रयाक गर्न हरेक समय प्रविधि प्रयोग गरिरहेको थियो । जब एक पटक कर्णले दार्चुलाको दत्तुमा गएर मोबाइल अन गरे प्रहरी अनुसन्धान पनि दार्चुला मोडियो । प्रहरीलाइ क्लु मिल्याे, जाे १७ गते साँझपछि मिलेकाे थिएन् ।

एक पटक मात्रै मोबाइल अन गरेका आरोपितले तुरुन्त मोबाइल बन्द गरे तर प्रहरीलाई भने यो ठुलो प्रमाण थियो, आरोपित पच्छ्याउने । दार्चुलाको दत्तुमा बैतडी र दार्चुलाकाे संयुक्त प्रहरी गस्ती परिचालन भएपछि आरोपित हतारीएर माहाकाली पारी भारत भाग्न खोजेको अवस्थामा प्रहरीको पञ्जामा परे । अन्ततः प्रहरी सफल भयो । नेपाल प्रहरी अपराधी समात्नमा सक्षम छ भन्ने चुनौतीपुर्ण परिक्षामा उत्तीर्ण भयो । जो गाउँका धुरन्धर सिकारीका नामले प्रख्यात थिए, गाउँमा चालाख, स्याल उपनामले परिचित थिए, ती सिकारी नेपाल प्रहरीको पञ्जाबाट उम्कीन असफल भए ।

तस्बिर : गाेली प्रहार गरी सुरेन्द्रकाे हत्या गरेका आरोपित कर्णबहादुर विष्ट उर्फ स्याललाई पक्राउ गरी ल्याउदै बैतडी प्रहरी

रणनीतिक एवं योजनाबद्ध तरिकाले नेपाल प्रहरीले अपराधी खोज्ने कुरामा कुनै कसुर नराखेर काम गरेको फलस्वरुप अपराधी पक्राउ गर्न सफल भएको बताउछन् बैतडी प्रहरी प्रवक्ता इन्सपेक्टर बल्देब बडु । उहाँले भन्नुभयो, ‘गाउँमा थुप्रै हल्ला थिए, हामीलाई पनि पीडित पक्षबाट थुप्रै संकाका कुराहरु गरिएका थिए, तर हामी योजनाबद्ध तरिकाले काम गरिरहेका थियौँ । अपराधी उम्कन सक्दैन भन्ने कुरामा हामी विश्वस्त थियौँ ।’

प्रवक्ता बडुका अनुसार आरोपितले आफुसंग रहेको भरुवा बन्दुक समेत जंगलको कुनै खोलामा फालेको प्रारम्भिक बयान दिएका छन् । मान्छे मारिसकेपछि हतास मानसिकता रहेको आरोपितले खोलामा बन्दुक फालेर भारत भाग्न खोजेको उहाँको भनाई छ । सम्बन्धि क्षेत्र वरीपरी रहेको जिल्लाको सबै प्रहरी युनिट घटनामा परिचालन गरिएको उहाँको भनाई छ । लोकेशन ट्रयाकपछि दार्चुला प्रहरी समेत अलर्ट थियो । सिमामा उच्च निगरानी थियो । ‘आजमात्रै प्रदेशबाट अनुसन्धान विषेश टोली बैतडीका लागि आएको थियो तर आरोपित पक्राउ परेपछि टोली बाटोबाटै फर्कियो ।’ उहाँले भन्नुभयो ।

फरार कर्णबहादुरलाई मोबाइलको लोकेशनको आधारमा पक्राउ गर्न सफल भएको इन्सपेक्टर बडुले बताउनुभयो । पक्राउ परेका कर्णबहादुरलाई बैतडी ल्याइएको छ । विष्टले खोलामा फालेको भनिएको बन्दुक खोज्न खोचलेक प्रहरी त्यसतर्फ गएको बडुले बताउनुभयो ।
कर्णबहादुर यस अघि हातहतियार ओसारपसारको मुद्दामा मुछिएका व्यक्ति समेत हुन्। सुरेन्द्रले कर्णबहादुरबाट ४० हजार रूपैयाँ असुल गर्नुपर्ने र सोहि विषयमा विवाद भएको र त्यसपश्चात गोलीकाण्ड भएको खुल्न आएको छ।
गोली प्रहार लगत्तै सुरेन्द्रलाई स्थानीय बासिन्दाले उपचारका लागि जिल्ला अस्पताल पुर्याए। अस्पताल पुर्याउदा चिकित्सकले शनिबार अर्थात फागुन १७ गते रातिनै मृत घोषणाा गरेका थिए।