धर्मानन्द बडु, ४ चैत्र । बैतडी- मोहन वैध्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले वैज्ञानिक समाजवादको नारा सहित जनसम्बन्ध विस्तार अभियान सुरु गरेको छ । आज अर्थात चैत्र ४ गतेबाट पार्टीले अभियान सुरु गरेको पार्टीका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओली (सुदर्शन) ले बताउनुभयो ।
आज देशका चार ठाउँबाट एकैसाथ अभियानको सुरुवात गरिएको उहाँले बताउनुभयो । जसअन्र्तगत नेपाल–सिमानाका जुलाघाटबाट पनि अभियान सुरु गरिएको छ । सोमबार बैतडीको शाहिलेकमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
दलाल संसदीय व्यवस्था खारेज गर्दै जनगणतन्त्रको परिकल्पना क्रान्तिकारी नेकपाको रहेको उहाँले बताउनुभयो । पश्चिम बैतडीबाट सुरु भएको अभियानको नेतृत्व स्थायी कमिटी सदस्य ओलीले लिएका छन् ।

गएको मंसिरमा तीन पार्टी एक भएर बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले सर्वहारा जनताको पक्षमा काम गर्ने उहाँको भनाई छ । गणतन्त्रको नाममा वर्तमान समयमा उदाएका नेताहरुले जनपक्षिय काम गर्न नसकेको आरोप लगाउँदै उहाँले भन्नुभयो, ‘जबसम्म नवजनगणतन्त्र आउदैन, जबसम्म दलाल नोकरसाह प्रवृती रहिरहन्छ तबसम्म जनताको अवस्था परिवर्तन सम्भवन नभएकाले पार्टीले जनसम्बन्ध विस्तार अभियान सुरु गरेको छ ।’
१० वर्षे जनयुद्धबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नुको साटो अहिलेका दलहरु भ्रष्टाचार र विदेशी शक्ती र दलाल पुजीपतीहरुको इसारामा नाचिरहेको उहाँको आरोप छ । जनसम्बन्ध विस्तार अभियानलाई व्यापक बनाई बैशाख १८ गते काठमाण्डौँमा गएर समापन गरिने बताइएको छ ।










