धर्मानन्द बडु, ११ चैत्र । बैतडी- जिल्ला स्वास्थ्य कार्यालय बैतडीले क्षयरागको लक्षण देखिएका व्यक्तिलाई क्षयरोकको परिक्षण गर्न आग्रह गरेको छ । विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय, बैतडीले आम नागरिकमा यस्तो आग्रह गरेको हो । अहिले स्वास्थ्य कार्यालय क्षयरोगको विरामी खोज्ने अभियानमा लगेको स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख तिर्थराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो ‘जिल्लामा लक्ष अनुसार क्षयरोगका विरामीहरु फेला पार्न सकिएको छैन्, अहिले हामीले सबै पालिका र स्वयम स्वास्थ्य कार्यालय क्षयरोगका विरामी खोज्ने अभियानमा छौँ ।’

कार्यक्रममा उपस्थित दशरथचन्द नगरपालिका स्वास्थ्य शाखा प्रमुख भवन जोशीले पहिले लगातार खोकी लागेमामात्रै क्षयरोगको जाँच गराउने गरिएपनि अहिले ख्वाक्क खोकी क्षयरोगपो होकी भनेर सोच्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले भन्नुभयो ‘कुल जनसंख्याको ४५ प्रतिशत व्यक्तिमा क्षयरोगको किटाणु हुने भएकाले यसको जाँच अनिवार्य छ । सबैलाई यसबारेमा सचेत गर्नुपर्छ ।’

क्षयरोगको जाँच र उपचार सबै निशुल्क भएकाले लक्षण देखिएका व्यक्तिले नजिकको स्वास्थ्य संस्थामा गई जाँच गराउनुपर्ने स्वास्थ्य कार्यालय, बैतडीका सूचना अधिकारी विपीन लेखकले बताउनुभयो ।
बैतडीमा अहिले १ सय २ जना क्षयरोगका बिरामी नियमित उपचारमा रहेका छन् । ९८ जना पुराना र चार जना यो बर्ष पत्ता लागेका नयाँ बिरामी गरेर १ सय २ जना उपचारमा रहेका लेखकले बताउनुभयो । उहाँका अनुसार गत बर्ष क्षयरोगका कारण ११ जनाको मृत्यु थियो । यस्तै चालु आर्थिक बर्षको अहिलेसम्म २ जना क्षयरोगका बिरामीको मृत्यु भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताउनुभयो।

समुदायमा अझै पनि क्षयरोगका बिरामीहरु रहेका तर उनीहरुलाई उपचारको दायरमा ल्याउन समस्या रहेको खोप सुपरभाइजर निरीक्षक भट्टले बताउनुभयो । नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । क्षयरोगका बिरामीहरु लक्ष्य अनुसार अझै उपचारमा आएका छैनन् । समुदायमा रहेका क्षयरोगका बिरामीहरुलाई उपचारको दायरमा ल्याउनका लागि सबैले सहयोग गर्नुपर्नेमा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जोड दिनुभयो ।