बैतडी- भूमी समस्या समाधान आयोग जिल्ला कार्यसमिति बैतडीले भूमी समस्या समाधान गर्न जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । साेमबार जिल्लाको पाटनमा १० वटै पालिकाहरुको सहभागितामा कार्यक्रम गरिएको हो ।

भूमीहिन, सुकुम्बासी, दलित सुकुम्बासी तथा अव्यवस्थित वसोवासीहरुको समस्या समाधानका लागि पालिकाहरुसंग एक दिन अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको भूमी अयोग जिल्ला कार्यसमिति बैतडीका सदस्य सचिव रणसिंह रावलले बताउनुभयो ।

तगत्तै स्थानीय पालिकाहरुमा स्थलगत अनुगमन गर्ने कार्यक्रम समेत रहेकाले पालिकाहरुसंग अन्तरक्रिया गरिएको भूमी अयोग जिल्ला कार्यसमिति बैतडीका अध्यक्ष रमेश पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो कार्यकालमा जिल्लाका भूमीहीन सुकुम्बासी, दलित सकुम्बासी र अव्यवस्थित वसोवास गरिरहेका व्यक्तिहरुको समस्या समाधान गछौँ, त्यसका लागि सबै स्थानीय तहहरुको सहयोग अपरिहार्य छ ।’

यसअघिको आयोगले संकलन गरेको तथ्यांक अनुुसार बैतडीमा २ हजार १२१ जना भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका छन् । तर आयोगको केन्द्रीय कार्यालयमा ९ सय २७ जनाको मात्रै तथ्यांक प्रविष्ट भएको सदस्य सचिव रावलले बताउनुभयो। पाटनमा अयोजना गरिएको कार्यक्रममा सदूरपश्चिम प्रदेश भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्री विरबहादुर थापा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले सुदूरपश्चिमका मूमीहीनहरुको समस्या विगत वषौँ देखि विभिन्न बाहानामा अड्कीएकाले यसपटकको आयोगले समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘पहाडका जिल्लामा त्यति समस्या नभएपनि तराइका जिल्लाहरुमा भूमिहिनहरुको समस्या व्याप्त छ, जुन समाधान हुन जरुरी छ ।’

भूमी समस्या समाधान आयोग जिल्ला समितिले भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्ने हिसाबले काम गरिरहेको अध्यक्ष पाण्डेयले बताउनुभयो।










