राधा बाेहरा । २० बैशाख, बैतडी- आज मे ३ विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बैतडी शाखाले पनि जिल्ला कारागार बैतडीका कैदिवन्दीहरुलाई ज्ञानवर्धक पुस्तक वितरण गर्नुका साथै सरोकारवालाहरुसंग अन्र्तक्रिया गरेर दिवस मनाएको छ ।

भागवत गीता, चारवटै वेदको नेपाली सारासं, चाणक्य नीति लगायतका धार्मिक तथा अन्य ज्ञानवर्धक उपन्यास तथा जिवनीसम्बन्धि पुस्तकहरु वितरण गर्दै प्रेस स्वतन्त्रता दिवस मनाईएको नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष नरी बडुले बताउनुभयो । उहाँका अनुसार कारागार तथा कैदिवन्दीका समस्या तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका बारेमा समेत अन्र्तक्रिया कार्यक्रम गरिएको थियो ।

जिल्ला कारागार बैतडीका चौकीदार गाणेशसिंह ऐरीले राखेका समस्या तथा मागहरुको जवाफ दिदै प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले उक्त मागहरुको सम्वोधन गरिने बताउनुभयो । जिल्ला कारागारमा खानेपानीको अपर्याप्ततालाई छिटै हल गरिने उहाँको भनाई थियो ।

कार्यक्रममा उपस्थित संविधानसभा सदस्य नरेन्द्र कुँवर (विजयसुन्दर) ले प्राप्त पुस्तकहरु अध्ययन गरेर कैदिवन्दीहरुले सकारात्मक सोचको विकास गर्नुपर्ने बताउनुभयो । साथै उहाँले लोकतान्त्रिक गणतन्त्र फस्ताउनका लागि स्वतन्त्र पे्रस हुनुपर्ने कुरामा जोड दिनुभएको । संचारमाध्यमले खोजमुलक तथा जनताका आवाजहरुलाई उजागर गर्नुपर्ने उहाँको भनाई थियो ।

यस्तै कार्यक्रममा उपस्थित कानून व्यवसायी तथा नेपाली कांग्रेसका सहसचिव दिपेन्द्र बहादुर चन्दले लोकतन्त्र र स्वतन्त्र प्रेस एक अर्काका लागि अपरिहार्य तथा अनिवार्य भएको बताउनुभयो । लोकतान्त्रिक मुलुकमा मात्रै स्वतन्त्र प्रेस हुने कुरामा जोड दिदै उहाँले राज्यको चौथो अंगका रुपमा मानिएको प्रेसले जनताको आवज बोल्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधि, संचारकर्मि लगायतको उपस्थिती रहेको थियो ।










