बाल बिवाह अन्त्य लागि मिडिया संवाद

राधा बाेहरा, ३० बैशाख, बैतडी- दलित समाज विकास मञ्च बैतडीले बाल बिवाह अन्तका लागि मिडिया संवाद गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय, बैतडीमा मञ्चले मिडिया संवाद कार्यक्रम गरेको हो । प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक मेकेन्द्र कुमार मिश्र र दलित समाज विकास मञ्चका अध्यक्ष सरस्वती नेपाली मुख्य वक्ता रहेको मिडिया संवादमा किशोरीहरुले जिल्लामा व्याप्त बाल बिवाह, जातीय विभेद र लैङ्गिक हिंसा न्युनिकरणका सन्दर्भमा प्रश्न गरेका थिए ।

संवादमा किशोरीहरुले राखेका प्रश्न एवं जिज्ञासाहरुको प्रमुख वक्ताहरुले जवाफ दिएका थिए । पछिल्लो समय बिवाहको उमेर २० वर्षबाट घटाएर १८ वर्ष कायम गर्न लागिएको भन्दै किशोरीहरुले बिवाहको उमेर २० वर्षनै कायम गर्नुपर्ने माग समेत राखेका थिए । दलित समाज विकास मञ्च बैतडीद्वारा संचालित बाल बिवाह अन्तका लागि छिटो मिलन कार्यक्रम अन्तर्गत मिडिया संवाद गरिएको संस्थाका सचिव बलभद्र दयालले बताउनुभयो ।

संस्थाले उक्त कार्यक्रम अन्तर्गत जिल्लाका दुई वटा पालिकाहरुका बाल बिवाह, जातीय विभेद र लैङ्गिक हिंसा नियन्त्रणका लागि काम गरिरहेको उहाँको भनाई छ । कार्यक्रममा उपस्थित अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले यस्ता संवाद एवं बहसहरुले समाजमा रहेका हानिकारक प्रचलन हटाउन मदत्त पुग्ने बताउनुभयो ।

भिडियाे हेर्नुहाेस …

प्रतिक्रिया छाेड्नुहाेस्