३१ बैशाख, बैतडी- भूमि समस्या समाधान आयोग बैतडीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलनको लागि पुनः आवेदन खोल्न माग गर्ने निर्णय गरेको छ।
बुधबार भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडीका अध्यक्ष रमेस पाण्डेयको अध्यक्षतामा बसेको बैठकले जिल्लामा रहेका भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क पुनः संकलनको लागि आवेदन खोल्न भूमि समस्या समाधन आयोग केन्द्रीय समितिलाई अनुरोध गर्ने निर्णय गरेको भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडीका सदस्य सचिव एवं नापी कार्यालय, बैतडीका प्रमुख रणसिंह रावलले बताउनुभयो ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि जिल्लाका १० वटै स्थानीय तहले पुनः आवेदन खोल्न जिल्ला समिति संग माग गरेकोले सोही अनुसार आयोगको केन्द्रीय समिति संग आवेदन खोल्न माग गरेको उहाँले बताउनुभयो ।
भूमि आयोगले ३५ दिने सूचना प्रकाशन गरे पछि भूमि सम्बन्धी समस्या रहेका नागरिकले आवेदन दिन सक्ने उहाँले बताउनुभयो । यस अघि संकलन गरिएको तथ्याङ्क अनुसार बैतडी जिल्लाभरि दुई हजार एक सय २१ भूमि सम्बन्धी समस्या रहेका नागरिक छन् । जसमध्ये ९ सय ७२ जनाको विवरणमात्रै आयोगमा प्रविष्ट भएको सदस्य सचिव रावलले बताउनुभयो ।










