बैतडी । १६ जेठ– बाल विवाह न्यूनिकरणका लागि धार्मिक अगुवा र राजनीतिक दल, किशोरी रं तिनिहरुको अभिभावकसंग संयुक्त अन्तरक्रिया गरिएको छ । दलित समाज विकास मञ्चको आयोजनामा अन्तरक्रिया गरिएको हो । बाल विवाह अन्त्यका लागि छिटो मिलन कार्यक्रम अन्तरगत अन्तरक्रिया कार्यक्रम गरिएको दलित समाज विकास मञ्चका सचिव बलभद्र दयालले बताउनुभयो । कार्यक्रममा उपस्थित धार्मिक अगुवाहरुले आफुहरुले विवाहको चिना मिलाउनुपुर्व उमेर पुगे–नपुगेको बारेमा एकीन गर्ने प्रतिवद्धता जनाएका थिए । उनिहरुका अनुसार पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले बाल विवाहका घटनाहरु बढीरहेका छन् ।

कार्यक्रममा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरुले पनि आफ्नो पार्टीका तल्लो तहसम्मका संरचनाहरुमा समेत बाल विवाहको मुद्दालाई समावेस गर्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्र बहादुर चन्दले पार्टीले गर्ने विभिनन कार्यक्रममा बाल विवाह एवं समाजमा रहेका हानिकारक प्रचलनहरुको अन्त्यका लागि आफुहरुले भुमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा उपस्थित नेकपा एमालेका जिल्ला अध्यक्ष नरेश विकले आफुहरुले पार्टीका जनवर्गीय संगठनहरु मार्फत समाजमा रहेका हानिकारक प्रचलनहरुको बारेमा सचेतना फैलाइरहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अथिति एवं नेकपा एमालेका केन्द्रीय सदस्य लिलिधर भट्टले तुलनात्मक रुपमा बाल विवाहका घटनामा सुधार आएको तर समाजमा विद्यमान सोचलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष एवं अधिकारकर्मि सरस्वती नेपालीले समाजमा विद्यमान जातीय विभेद, बाल विवाह र लंङ्गिक विभेदका मुद्दामा संस्थाले विगतदेखिनै आवाज उठाइरहेको बताउनुभायो । उहाँले भन्नुभयो ‘समाजमा रहेका विभिन्न हानिकारक प्रचलनहरुको अन्त्यका लागि कुनै एक व्यक्तिले नभई सिंगो समाजको मानसिकता परिवर्तन गर्नुपर्ने छ, त्यसका लागि सबैले आ–आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्दछ ।










