बैतडी । १७ जेठ- सरकारले क्यान्सर, मेरुदण्ड पक्षाघात र मिर्गौलाको बिरामीलाई मासिक पाँच हजार औषधि खर्च उपलब्ध गराउदै आएको छ । तर पञ्चेश्वरका क्यान्सर पीडितहरुले दुई वर्षदेखि आफुहरुले भत्ता नपाएको गुनासो गरेका छन् । सम्पुर्ण कागजपत्र तयार गरि गाउँपालिकामा बुझाएको दुई वर्ष वितिसक्दा समेत आफुहरुले भत्ता नपाएको पञ्चेश्वर गाउँपालिका– ५ बलाराका ३० वर्षीया मुधु कुमारी चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले दिने भनेको मासिक उपचार खर्च हामी सम्म पुग्न सकेको छैन्, गाउँपालिकामा फाइल बुझाएको दुई वर्ष भयो खै के गर्दै छन् ।’
संघीय सरकारले दिने भनेको रकम नदिएकाले भत्ता दिन नसकिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो संघीय सरकारको कार्यक्रम हो, संघीय सरकारबाट श्रोत भर्ना नभएकाले दिन नसकिएको हो ।’ गाउँपालिकाकै श्रोतबाट भएपनि क्यान्सर पीडितलाई उपचार खर्च दिने तयारी रहेको अध्यक्ष चन्दले बताउनुभयो । गाउँपालिकाले पीडितका सबै विवरण समयमै मन्त्रालयमा पठाएको भएपनि मन्त्रालयले रकम नदिएको उहाँको भनाई छ ।
बिरामीहरूको औषधि उपचार लामो समयसँग गर्नु पर्ने र खर्चिलो हुने हुँदा बिरामीलाई हुन जाने आर्थिक भार कम गर्न सरकाले औषधि उपचार बापत मासिक पाँच हजार उपलब्ध गराउदै आएको थियो ।
सरकाले दिने भनेको उपचार खर्च नपाउदा क्यान्सर पीडितहरुलाई झन पीडा थपिएको छ ।










